बेनी नगरपालिकाको बाल भेलाले भन्यो,‘बालमैत्री कार्यक्रमलाई प्राथमिकता दिनुहोस्’

0
256

(प्रताप बानियाँ)
म्याग्दीका बालबालिकाहरुले शनिबार सम्पन्न बाल भेलामार्फत विभिन्न १६ ओटा योजनाहरु छनोट गरेका छन् । बेनी नगरपालिका कार्यालयको आयोजना र जिल्ला बालकल्याण समिति म्याग्दीको समन्वयमा भएको नगरस्तरीय बाल भेलामार्फत बालबालिकाका लागि वास्तविक योजना तथा आवश्यकताहरु छनोट गरिएको हो ।

बालभेलामा सहभागी बालबालिकाहरुले स्थानीय निकायमा आउने लक्षित वर्गको रकमबाट उनीहरुको वास्तविक आवश्यकता र योजनाको प्राथमिकीकरण गरिएको बेनी नगरपालिकाको कार्यालयले जनाएको छ । भेलामा बालबालिकाहरुले बालअधिकारसँग सम्बन्धित कार्यक्रमहरु, समाजमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न, बालअधिकार संरक्षण, आवश्यक कार्ययोजना निर्माण र निर्माणका क्षेत्रमा भौतिक संरचना बनाउँदा बालमैत्री बनाउनुपर्नेमा जोड दिएका छन्।

यसैगरी विषयगत कार्यालहरुबाट पनि बालबालिकाका लागि प्राप्त बजेटले बालमैत्री भौतिक संरचना निर्माण, बालबालिकाको विकासका लागि योजनामा प्राथमिकता र बजेटको कार्यान्वयन जस्ता योजनामा ध्यान दिनुपर्ने बालबालिकाहरुले बताएका छन् । बालबालिकालाई एकै ठाउँमा जम्मा गरी उनीहरुका वास्तविक योजना र आवश्यकताको प्राथमिकीकरण गर्न चित्रमय विधिबाट समूह कार्य गरी योजनाहरु छनोट गरिएको थियो ।

img_00092बालभेलामार्फत बनाइएका योजनाहरु वडा र नगर परिषदमा पठाइने भएको छ भने विभिन्न पाँचवटा योजनालाई प्राथमिकीकरण गरिएको बताइएको छ । बालभेलाले बालबालिकाहरुलाई स्थानीय शासन र प्रजातान्त्रिक पद्धतिमा सहभागी हुने अवसर समेत प्रदान गरेको बेनी नगरपालिकाका कार्यक्रम अधिकृत सोविता शर्माले बताइन् ।

कार्यक्रममा बेनी नगरपालिकाका कार्यकारी अधिकृत छविलाल सुवेदीले बालबालिकाको क्षमता अभिवृद्धि गर्नुपर्ने बताउँदै बालमैत्री नगर स्थापना गर्न सबै लाग्नुपर्ने बताए । कार्यक्रमको अधिकृत शर्माले सहजीकरण गरेकी थिइन् । बालभेलामा वडा नागरिक मञ्चमा प्रतिनिधित्व गर्ने नगरपालिकाको १४ वडा र बाल क्लबका गरी ३२ जना बालबालिकाले सहभागीता सहभागीता जनाएका थिए । उक्त कार्यक्रममा महिला तथा बालबालिका कार्यालय म्याग्दीका बाल संरक्षण निरीक्षक भुवनबहादुर मल्ल, बेनी नगरपालिकाका सामाजिक परिचालन संयोजक मुक्ति ढुङ्गाना, पत्रकार र बेनपाका कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।