(हरिकृष्ण गौतम)
लोपउन्मुख नाचको संरक्षण गर्न म्याग्दीमा पुख्यौली नाचको प्रतियोगिता हुने भएको छ । नेपाल मगर संघ म्याग्दीले माघी पर्वको अवसरमा म्याग्दीको सदरमुकाम बेनीमा खुल्ला पुख्यौली नाचको प्रतियोगिता भएको हो । जिल्लाको पहिचानको रुपमा रहेको पुख्यौली नाचको प्रतियोगिता संगै लोपउन्मुख नाचहरूको विषेश प्रर्दशन गरिने मगर संघ म्याग्दीका सचिव लोकेश पुन मगरले बताए ।

‘हामीले जिल्लाको पहिचानको रुपमा रहेका नाचहरूको संरक्षणमा निरन्तर पहल गरिरहेका छौ । नयाँ पुस्तालाई सीप हस्तान्तरण गर्न समेत प्रतियोगिताले भुमिका खेल्नेछ’ उनले भने । मगर संघ म्याग्दीको शनिबार बसेको बैठकमा जनजातीका कला र संस्कृतिको संरक्षणका साथै भेषभुषाको समेत विषेश प्रस्तुतीका लागि आवश्यक तयारी गर्ने निर्णय गरेको अध्यक्ष मनप्रसाद थजालीले बताए । ‘हामीले पुराना कला र संस्कृतिलाई नयाँ पुस्तमा हस्तान्तरण गर्नेलाई प्राथमिकतामा राखेका छौ । पश्चिमा संस्कृतिले पहिचान जोगाउनै हम्मेहम्मे भएको छ’ उनले भने ।

तिहारमा भवन निर्माण तथा पुराना कला र संस्कृतिको संरक्षणका लागि देउसीभैलोमा समेत संघले पुख्यौली नाच तथा थाली नाचलाई विषेश प्राथमिकता दिएको थियो । म्याग्दीको चिमखोलामा २०२४–०२५ सालबाट सुरू भएको म्याग्दी जिल्लाकै पहिचानको रुपमा रहेको थालका साथै सोरथी, मारुनी लगाएतका जनजातीका पहिचान संग जोडिएका नाचमा यूवालाई तालिम तथा प्रशिक्षण समेत दिने गरेको छ । यसैविच मगर संघ म्याग्दीले सञ्चालन गरेको देउसीभैलोबाट ११ लाख ४६ हजार ४९० सङ्कलन भएकोमा २ लाख ३५ हजार ८५ रुपैयाँ खर्च भई कुल ९ लाख ११ हजार ४०५ बचत भएको मगर संघले जनाएको छ ।