(धु्रबसागर शर्मा)
म्याग्दीकी बौद्धिक अपाङ्ग कमला बरुवालले यस वर्षको ईश्वरी बौद्धिक अपाङ्ग राष्ट्रिय पुरस्कार प्राप्त गर्नुभएको छ ।२५औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग कोष केन्द्रिय समिति काठमाण्डौंद्धारा आयोजित एक कार्यक्रममा स्वास्थ्य मन्त्री गगन थापाले बरुवाललाई सो पुरस्कार प्रदान गर्नुभएको हो । पुरस्कारको रासी नगद ५ हजार र प्रशंशापत्र रहेको छ ।

म्याग्दीको बेनी नगरपालिका ११ कोठेसाँघु बगुवाखोलामा अवस्थित बालजागृति प्राथमिक विद्यालयको बौद्धिक अपाङ्ग स्रोत कक्षामा अध्ययनरत बरुवालले सन् २०१३ मा अष्ट्रेलियाको न्यू क्यासलमा सम्पन्न अन्तर्राष्ट्रिय बोस्सी खेलमा प्रथम स्थान प्राप्त गर्नुभएको थियो । त्यसका साथै २०६९ सालको क्षेत्रीय बोस्सी खेलमा प्रथम,२०७०मा जिल्लास्तरीय योङ एथलेटिक्समा प्रथम र जिल्ला स्तरीय खेलकुद प्रतियोगिता म्याग्दीको ५० मिटर दौडमा तृतीय स्थान प्राप्त गर्नुभएको बालजागृति प्राविका प्रअ भक्त कार्कीले जानकारी दिनुभयो ।

२०५४ साल माघ ३० गते अर्थुङ्गे १ जलेश्वर म्याग्दीमा जन्मनुभएकी बरुवालका आमाबाबुको मृत्यु भइसकेको छ । विपन्न परिवारकी बरुवाललाई आमाबाबुको मृत्युपछि २०६८ सालमा बौद्धिक अपाङ्ग स्रोत कक्षामा भर्ना गरिएको थियो । खेलकुद ,गीतसंगीत र घुमफिरमा रुचि भएकी बरुवाल बौद्धिक अपाङ्ग भएपनि उनीसंग प्रशस्त क्षमता रहेको र उनलाई आर्थिक रुपमा सहयोग गर्ने उदारमना व्यक्तिहरुको आवश्यकता रहेको प्रअ कार्कीले बताउनुभयो ।

विज्ञापन