(हरिकृष्ण गौतम)
बेनी नगरपालिका–२ अर्जमकी निशा नेपालीले ७ बर्षिया छोरी अरनीमा नेपालीको मुटुमा प्वाल परेपछि घरमा भएको आर्थिकले उपचारको प्रयास गरिन् । पोखराका विभिन्न अस्पतालमा उपचार सम्भव नभएपछि काठमाण्डौस्थित सहिद गंगालाल हृदयकेन्द्रमा पुगेकी नेपालीलाई छोरीको उपचारमा ६ लाखसम्म खर्च हुने चिकित्सकले बताएपछि छांगाबाट खसेझै भईन् ।

गाउँकै आर्थिक अवस्था कमजोर भएकी नेपालीले घरमा भएको पैसा र आफन्तबाट ऋण लिएर समान्य उपचार गरेको अवस्थामा रकम अभावकै कारण छोरीलाई घरमै राखिन् । दैनिकजसो छोरीको अनुहार हेरेर बरर र आँसु झार्ने गरेकी नेपालीले उपचारको संकेत कतैबाट देखिनन् । नेपालीजस्तै हिस्तान–९दोसल्लेका संगीता विकको छोरा ब्लड क्यान्सरबाट पिडित भएपछि उपचारका लागि सहयोगको याचना गदैं धेरै ठाउँमा पुगिन् । श्रीमानको वेवास्ता, उपचारमा आर्थिक अभावका कारण सहयोगको खोजीमा हिडेकी विकले म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषका बारेमा जानकारी पाएपछि सहयोगको अपिल सहित कोषमा पुगिन् ।
20161202_130526
छोराको उपचारमा दुईबर्ष देखी कोषले आर्थिक जुटाइरहेको छ । नेपाली र विक दुई प्रतिनिधिमुलक पात्र मात्रै हुन् । आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट बन्चित भएका म्याग्दीका २५ जनाको उपचारमा करोडभन्दा बढी आर्थिक सङ्कलन गरेर परोपकारी अभियान सञ्चालन गरिरहेको कोष विरामीको उपचारमा बरदान सावित भएको छ । ‘दुई रुपैयाँ समेत कसैले विश्वास गरेनन्, अहिले मेरो छोराको उपचारमा आवश्यक पर्ने सहयोग उपलब्ध गराइरहनुभएको छ’ब्लड क्यान्सर पिडित प्रवेश विककी आमा संगिताले भनिन् ।

उनले नियमित उपचारका साथै औषधी खरिदमा कोषमार्फत सहयोग लिइरहेको बताईन् । बेनी नगरपालिका–१४ की ओमकुमारी शान्ती पुन हाईपोपलास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा सहयोग जुटाउन सुरू भएको अभियानको क्रममा निधन भएपछि ओमकुमारीको नाममा स्थापना गरिएको कोषले आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका म्याग्देलीको उपचारमा आर्थिक जुटाइरहेको छ ।
20161202_131430
‘आर्थिक नभएर घरमै रोगसंग संघर्ष गरिरहनुभएकालाई अस्पतालसम्म पु¥याउने काम गरेका छौ । विपन्नताको कारण नै मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने सकिन्छ भन्ने सन्देश प्रवाह भएको छ’ कोषका अध्यक्ष राजेश शाक्यले भने।संस्था स्थापनाको तीनबर्षमा २५ जनाको उपचारमा स्वदेश तथा विदेशबाट आर्थिक जुटाउन सफल भएको शाक्यको भनाई छ । प्रतिब्यक्ति ३ देखी ३० लाखसम्म कोषमार्फत उपचारमा सहयोग जुटेको छ ।
कोषमार्फत ब्लड क्यान्सर, मुटु, मृगौला, हाडजोर्नी, आँखा, नशा लगाएत विभिन्न किसिमका रोगको उपचारमा भइरहेको छ ।

जिल्लाको एकमात्रै परोपकारी संस्थाको रुपमा समेत आफ्नो पहिचान बनाउन सफल भएको छ ।गरिव तथा विपन्नबर्गको उपचारका साथै भुकम्प, बाढीपहिरो पिडितलाई समेत आर्थिक जुटाएको कोषका संस्थापक अध्यक्ष चन्द्र कुमार केसीले बताए । उनका अनुसार १ करोड ५० लाखको अक्षय कोषको स्थापना गरी विपन्नको उपचारलाई थप प्रभावकारी बनाउने अभियान समेत सञ्चालन भइरहेको बताए । जिल्ला प्रशासन कार्यालय र रेडक्रस सोसाईटीले समेत कोषको कार्यलाई सामाजिक र परोपकारी अभियान भन्दै सहकार्य गरिरहेको छ । ‘म्याग्दीमा देशभरलाई सन्देश प्रवाह गर्ने अभियान सञ्चालन भइरहेको छ ।
20161202_132549
आर्थिक अभाव भएकै कारण मृत्युलाई स्वीकार गर्नुपर्ने अवस्था यहाँ छैन’ प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले भने । उनले कोषमार्फत आर्थिक अवस्था कमजोर भएकालाई उपचारसंगै प्राकृतिक विपत्तीमा परेकालाई राहत उपलब्ध गराउने अभियानको सिको देशभर गर्नुुपर्ने बताए । भूकम्पमा उद्धार तथा राहत वितरणमा धौलागिरि अञ्चलकै सक्रिय संस्थाको रुपमा समेत परिचय स्थापित गरेको थियो ।कोषका अभियानमा जन्मदिन, विवाह, बर्तबन्ध, आफन्तको सम्झना लगाएत विभिन्न कार्यहरूमा समेत सहयोग उपलब्ध हुने गरेको छ ।