कांग्रेस म्याग्दीका ७ जना सदस्य मनोनित, पदाधिकारीमा दावी गर्नेको लर्को

0
173

नौ महिनादेखि जारी काँग्रेस म्याग्दीको पदाधिकारी मनोनयनको किचलो अझै टुगिएको छैन । बिहीबार जिल्ला कार्य समितिको तेस्रो पूर्ण वैठकमा मनोनयन प्रस्ताबले औपचारिक प्रवेश पाएपनि आकांक्षी धेरै देखिएका कारण छलफल बिनानिस्कर्ष सकिएको छ । ‘अर्को’ वैठकबाट निर्णय गर्ने भनिएपनि वैठकको मिति तोकिएको छैन । वैठकमा सभापति खम्बीर गर्बुजाले कार्यसमितिलाई पूर्ण बनाउन प्रस्ताब गर्दै आफ्नो आकांक्षा राख्न आग्रह गरेका थिए ।

यसअघि चर्चामै रहेका जिल्ला सदस्य केवी भण्डारी, माधव रेग्मी, क्या. मिनबहादुर कार्कीले उपसभापतिमा आफ्नो दावेदारी प्रस्तुत गरेका थिए । तीनजनाका साथै नेतृत्वमा समावेशिताको सवाल उठाउँदै अमृतदेवी बानियाँले पनि उपसभापतिका लागि आफु योग्य रहेको दाबी गरेकी थिइन् । बानियाँले उपसभापति र सचिबमध्ये कुनैमा एक आफुलाई दिनुपर्ने माग गरेकी छन् ।

सचिबमा ओम छन्त्यालले दाबी पेश गरेका छन् भने सह–सचिबमा भरत बहादुर रकाल र कमल छन्त्याल इच्छुक देखिएका छन् । तीनवटै पदमा आकांक्षी धेरै देखिएपछि मनोनयन अझ जटिल बनेको छ ।

वैठकमा उपसभापतिका आकांक्षी केवी भण्डारीले अधिवेशनमा कार्यकर्तालाई आफुलाई सबैभन्दा बढी मत दिएर जिताएकाले काँग्रेसले जिताउने एजेण्डा आफुसँग भएको दाबी गर्दै उपसभापतिका लागि योग्य रहेको बताए । सदस्य माधब रेग्मीले अघिल्लो कार्यकालमा सभापति र उपसभापतिको अनुपस्थितिमा आफुले काँग्रेस बचाएको भन्दै उपसभापतिका लागि आफु सबैभन्दा योग्य भएको टिप्पणी गरेका थिए ।

उपसभापतिकै आकांक्षी क्या. कार्कीले गाउँ र जनताको मन आफुले बुझेको भन्दै त्यसमा आफ्नो दाबी रहेको बताएका थिए । वैठकमा सभापति गर्बुजाले कार्यसमितिमा सर्वसम्मत हुन नसके आफ्नो स्वविवेकले मनोनित गर्ने बताए । ‘सकभर सहमतिमै गरौँ, पार्टी यसरी राखेर हुदैन्, नभए मैले मनोनित गर्छु’, उनले भनेका थिए । काँग्रेस सचिब हरिकुमार श्रेष्ठले आकाँक्षी धेरै देखिएका कारण वैठकले कुनैपनि निर्णय नगरेको जानकारी दिए । ‘सबैले आ–आफ्नो धारणा राख्ने काम भयो ।

जिल्ला सदस्यका लागि नाम प्रस्ताब भएका छन्, यी सबै अर्को वैठकबाट अनुमोदन हुनेछन्’, उनले भने । वैठकले जिल्ला कार्य समितिमा सात जना सदस्य मनोनित गर्ने अनौपचारिक निर्णय गरेको छ ।

नेत्र महत, अजयमिलन श्रेष्ठ, कृष्ण बरुवाल, अमृतमान शेरचन, आत्मा तुलाचन, मनकुमार पुन र रुद्रबहादुर केसीले जिल्ला सदस्यको रुपमा मनोनित गर्ने प्रस्ताव भएको सचिब श्रेष्ठले जानकारी दिए । यसैबीच, काँग्रेस नेता नेत्र महतले भने जिल्ला सदस्य मनोनित प्रस्ताव प्रति असहमति जनाएका छन् । सिँगो पश्चिम क्षेत्र र समावेशितालाई ध्यान नदिईएको भन्दै उनले गम्भिर असहमति जनाएका हुन् । नेता महत जिल्ला अधिवेशनमा सभापति गर्बुजासँग पराजित भएका थिए । रिखार राष्ट्रिय दैनिक