बेनी सामुदायिक माविका ३६ जना विद्यार्थी प्रशिक्षण तथा आफ्नो प्रतिभालाई प्रस्तुत गर्न नवलपरासीको हात्तिखोरमा पुगेका छन् । नेपाली सेनाको जूनियर डिभिजन अन्र्तरगत राष्ट्रिय सेवा दलले छनौट गरेका विद्यार्थीहरूलाई जिल्लामा हुने अभ्यासपछि थप २१ दिनका लागि नवरपरासीमा हुने राष्ट्रियस्तरको अभ्यासमा सहभागि हुन प्रस्थान गरेको बेनी सामुदायिक माविका प्रधानध्यापक दिपक श्रेष्ठले बताए ।
‘त्यहाँ विविध कार्यक्रम हुन्छ, तालिमले विद्यार्थीको दैनिकमा ब्यापक परिवर्तन ल्याएको छ’ श्रेष्ठले बेनीअनलाइनलाई भने । उनले विद्यार्थीको दैनिकी परिवर्तनको माध्यम बनेको तालिम समापन पछि विद्यार्थीहरूले सामाजिक कार्यमा समेत सक्रिय हुने प्रतिबद्धता जनाएको बताए । तालिममा छनौट भएका विद्यार्थीको अल्छीपन हटाउनुका साथै प्राकृतिक विपत्तीमा परेका नेपालीलाई उद्धारमा सक्रिय हुने आत्मविश्वास बढेको प्रतिक्रिया दिएका थिए । तालिमले छोराछोरीको दैनिकीमा ब्यापक परिवर्तन भएपछि अभिभावक समेत उत्साहित छन् । आइतबार विद्यार्थीलाई थप तालिमको लागि विदाई गरिएको थियो ।
प्राकृतिक विपत्ती सहित राष्ट्रलाई आवश्यक परेमा स्वंयमसेवकको भूमिका निर्वाह गर्ने गरी नेपाली सेनाले जिल्लामै पहिलो पटक सदरमुकाम बेनीस्थित बेनी सामुदायिक विद्यालयमा गरेको छनौटमा २ सय विद्यार्थीबाट ३६ जना छनौट भएका विद्यार्थीले दैनिक दुई घण्टा विभिन्न किसिमका अभ्यास गर्ने गरेका थिए । सामुदायिक विद्यालयमै नेपालमै सवोत्कृष्ट समेत घोषित भइसकेको बेनी सामुदायिकले शैक्षिक सहित ब्यवहारिक ज्ञानलाई समेत प्राथमिकता दिइरहेको अवस्थामा नेपाली सेनाको सहयोगबाट सहज भएको जनाएको छ ।
७९ दिनसम्म विद्यालयमा गरिएको तालिममा अनुशासन, नेतृत्व सीप, सैद्धान्तिक, एरोवीक्स, मास, पिटी, तेक्वान्दो, नक्सा अध्ययन, खुकुरी ड्रिल, भिडमा बोल्ने तरिका, लागुऔषध, चेलीवेटी बेचविखन विरुद्ध, खोज उद्धार सम्बन्धित ज्ञान सिकाइने श्रीबक्स गुल्म म्याग्दीले जनाएको छ ।विद्यार्थीलाई सेवा दलका बिजय भण्डारी, लिला थापामगरले नियमित प्रशिक्षण दिने गरेका छन् ।तालिमकै क्रममा विद्यालय भित्र तथा बाहिर ब्यवहारिक अभ्यास समेत गराइएको थियो ।
नवलपरासीको हात्तिखोर क्याम्पमा विभिन्न जिल्लाबाट आएका सहभागिहरूले राष्ट्रपति, प्रधानमन्त्री, सेनापति लगाएत विशिष्ट ब्यक्तिहरूको उपस्थितिमा एकल तथा जिल्लाको तर्फबाट विभिन्न अभ्यास, सांगितिक लगाएतका कार्यक्रम प्रर्दशनपछि सहभागि विद्यार्थीलाई प्रमाणपत्र र सम्मान गरेर विदाई गरिन्छ ।तालिममा सहभागि भएकाहरूलाई भविस्यमा नेपाली सेनामा जागिरमा समेत अवसर तथा सजिलो हुने तालिमका प्रशिक्षकको भनाई छ ।