आर्थिक अभावमा विद्यालयको भवन निर्माणकार्य अलपत्र

0
313

(प्रताप बानियाँ)
विद्यालयको कक्षाकोठा भवन निर्माण गर्न आर्थिक स्रोत अभाव भएपछि निर्माणकार्य नै अलपत्र परेको छ । म्याग्दीको बेनी नगरपालिका–३ फापरखेतमा अवस्थित खड्गभवानी प्राथमिक विद्यालयमा गत आर्थिक वर्षमा शुरु गरिएको भवन निर्माणकार्य अलपत्र परेको हो ।
img_0081
सांसद विकास कोषबाट १ लाख, जिविस म्याग्दीबाट ७५ हजार र बेनी नगरपालिकाबाट ७० हजारका साथै बाँकी विद्यालय तथा स्थानीय स्रोतको व्यवस्थापनमा दुईकोठे कक्षाकोठाको निर्माण शुरु गरिएको थियो । तर, निर्माणकै क्रममा गएको वर्षातको समयमा भवनभन्दा माथीबाट पहिरो खसेर भवन भत्काएपछि निर्माणकार्य नै अवरुद्ध बनेको खड्गभवानी प्राविले जनाएको छ । भवनको अभावमा विद्यालयमा अध्ययरत सबै दलित विद्यार्थीहरु सास्ती भोग्न बाध्य छन् ।
img_0079
भवन नहुँदा २ ओटा कक्षालाई एउटै कक्षाकोठामा विद्यार्थी राखेर पढाउनुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर चर्मकारले बताए । विद्यालयमा कम्पाउण्ड वाल नहुँदा चोरी, डकैती, तोडफोड भैरहने तथा बस्तुभाउ पसेर हैरान पार्ने गरेको उनले बताएका छन् ।
img_0072
कक्षाकोठाको अभावसँगै विद्यालयमा शौचालय र कम्पाउण्ड वालको समेत अवाभ देखिएको छ भने विद्यालयमा शौचालय नहुँदा शिक्षक तथा विद्यार्थीहरु दिसापिसाब गर्न खाली पाखोमा जानुपर्ने समस्या समेत रहेको छ । विद्यालयको समस्याबारे शिक्षा कार्यालय, जिविस र नगरपालिकामा पटकपटक जानकारी गराउँदा पनि सुनुवाई नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यामबहादुर कार्कीले गुनासो गरे । उनका अनुसार कक्षाकोठाको अभावमा शिक्षण सिकाई क्रियाकलाप अस्तव्यस्त बन्ने गरेको छ ।
img_0071
भवनको अभाव मात्रै होइन उक्त विद्यालयमा दरबन्दीअनुसार शिक्षकको पनि अभाव छ । कुल ५२ जना विद्यार्थीहरु अध्ययनरत सो विद्यालयमा दरबन्दीका २, बालविकास सहयोगी कार्यकर्ता १ र विद्यालय कर्मचारी एकजना मात्रै कार्यरत रहेका छन् । विद्यालयको अवस्थाबारे म्याग्दीका जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले भने कार्यालयमार्फत विद्यालयलाई आवश्यक सहयोग गरिने बताए ।