निर्वाचन पूर्वाधार विशेष कार्यक्रमका लागि जिविस म्याग्दीले चालु आर्थिक वर्ष २०७३÷७४ को बजेट वितरणका लागि बोलाएको बैठकमा अन्तिम निर्णय हुनुभन्दा आधा घण्टा अगाडी सामाजिक सञ्जालमा जिल्लास्थित राजनीतिक दलका कार्यकर्ताले आफ्नो क्षेत्रमा बजेट विनियोजन गरेको भन्दै आफ्नो पार्टीका सांसद र नेताको नाममा सामाजिक सञ्जालमा धमाधम पोष्ट गर्न थाले ।

जिविस म्याग्दीमा प्रत्यक्ष निर्वाचिन सांसद नवराज शर्माको अध्यक्षतामा बसेको बैठकमा समानुपातिक तर्फकी नरदेवी पुन र मनोनित तर्फका रेशम बहादुर बानियाँ सहित विषयगत कार्यालयका प्रमुख लगाएतको उपस्थितिमा प्राथमिकताका आधारमा तय गरिएका आयोजनाहरूमा बजेट बाडफाँडका विषयहरूमा छलफल भइरहेको अवस्थामा धमाधम पार्टीका कार्यकर्ताबाट सामाजिक सञ्जालमा बजेट र योजनाका सार्वजनिक भइरहेको थियो ।

पटकपटक बसेको अनौपचारिक बैठक तथा आइतबार अबेरसम्म बसेको योजना छनोट समितिको बैठकका निर्णयलाई आफ्ना पार्टीका योजनाहरू जस्तै प्रचारप्रसार गरिएपछि सोमबार काँग्रेस र एमालेका कार्यकर्ता विच सामाजिक सञ्जालमा लफडा सुरु भएको छ । ‘हाम्रो पार्टीको पहलमा गाउँमा सडक र विद्युतमा बजेट विनियोजन भएको छ ।यसमा निरन्तर पहल गर्नुहुनेलाई धेरैधेरै धन्यवाद’ एक राजनीतिक दलका कार्यकताले सामाजिक सञ्जालमा पोष्ट गरेपछि विपक्षी पार्टीका कार्यकर्ता जाईलागेका थिए ।

बैठकमा सहभागि भएका जनप्रनितिधिहरूबाटै बजेटका बारेमा भ्रम सृजना गरिएका कारण कार्यकर्तामा निर्वाचन विषेश कार्यक्रम मार्फत प्राप्त बजेटलाई लिएर सामाजिक सञ्चालमा कडा प्रतिवाद भइरहेको छ । आफ्नो पकट भएका क्षेत्रहरूमा बजेट विनियोजन भएको सार्वजनिक गरी कार्यकर्ता र राजनीतिक गतिविधिलाई बलियो बनाउने गरी सामान्य कार्यकर्ता देखी विद्यालयका शिक्षक तथा दलका जिम्मेबार नेताहरू समेत लागिपरेका छन् ।

गाउँपरिषद, इलाका तथा विगतमा जिल्ला परिषद्बाट रेडबुकमा समावेश भएका योजनाहरूलाई प्राथमिकतामा राखेर विनियोजन गरिएका बजेटहरूमा दलका कार्यकर्ताहरूको हानथापले अनावश्यक हल्ला फैलिनुका साथै कार्यान्वयनमा समेत जटिलता उत्पन्न भएको छ ।

गाविसस्तरमा हुने राजनीतिक दलका कार्यक्रममा योजनाका बारेमा चर्को भाषण गर्ने गरेका जनप्रतिनिधि सहित दलका नेताहरूले बजेट विनियोजनका क्रममा समेत सोही सन्देश गाउँसम्म पु¥याउन कार्यकर्तालाई परिचालन गरेको देखिएको छ ।यता स्थानीय विकास अधिकारी प्रेमराज गिरीले प्राथमिकता र आवश्यकतामा आधारमा जनप्रतिनिधिहरुको बजेट विनियोजन भएको बताए ।‘बजेटमा जनप्रतिनिधिको भूमिका ठुलो हुन्छ, तर सबै योजना प्रक्रिया अनुसार आएका छन’ गिरीले बेनीअनलाइनलाई भने ।

उनका अनुसार सडक, शिक्षा, नदी नियन्त्रण, सामुदायिक भवन तथा खेलकूद क्षेत्र समेटेर चौबीस योजनामा सर्वसम्मतीले निर्णय गरिएको बताए । म्याग्दीबाट व्यवस्थापिका संसदमा प्रतिनिधित्व गरिरहेका सांसदहरु नवराज शर्मा, नरदेवी पुन र रेशमबहादुर बानियाँको उपस्थितिमा जिविसमा बसेको बैठकले आयोजना सेवा व्यवस्थापन खर्च (कन्टिन्जेन्सी)का लागि नौ लाख रुपैयाँ छुट्टाएर बाँकी दुई करोड ९१ लाख बाँडफाँट गरेको छ ।

प्रत्यक्ष निर्वाचित सांसदको संयोजकत्वमा रहने योजना छनोट समितिमा समानुपातिक तथा मनोनित सांसदसहित नगरपालिकाको कार्यकारी प्रमुख, पूर्वाधारसँग सम्बन्धित कार्यालयका प्रमुखहरु पनि सदस्य रहने प्रावधान छ । स्वीकृत योजनाको सडकतर्फ गलेश्वर–पिप्ले–भगवती–बेगखोला–चिमखोला सडकलाई सबैभन्दा धेरै ४० लाख, अधिभारा–रुम, घारखोला–पाउद्वार–किन्दु र दरबाङ–दिच्याम सडकलाई पन्ध÷पन्ध्र लाख तथा सिमलचौर–डडुवा सडकलाई १४ लाख रुपैयाँ वितरण भएको छ ।

त्यसगैरी दरबाङ–निस्कोट, राखु खोला–भकिम्ली, रिम–काफलडाँडा, भिरकाटे–दोवा रछिस्बाङ–टिकाबाङ–झाँक्रीपानी–किमचौर सडकलाई दश÷दश लाख रुपैयाँ छुट्ट्याइएको छ । वस्ती संरक्षणअन्तर्गत ओखरबोटको फुलबारी बस्ती संरक्षणका लागि १० लाख रुपैयाँ बजेट वितरण गरिएको छ । गएको वर्षायाममा नदी कटानका कारण उक्त सो बस्तीका केही घर बगाउनुका साथै जोखिम पनि बढेको छ ।

यस्तै शैक्षिक पूर्वाधार विकासतर्फ पौलत्स्य मावि भिरमुनी, गलेश्वर मावि तोरीपानी, ऋतुङ मावि कुईनेमङ्गले, सूर्यज्योती प्रावि मुना, सिद्ध निमावि निस्कोट, शिख मावि, किसानी मावि विम, विद्यामन्दिर प्रावि अर्थुङ्गे र राष्ट्रिय जनजागृति मावि कुहुँको कक्षाकोठा तथा देविस्थान मगरदाङको सामुदायिक र राजदाङमा आमा समूहको भवन बनाउनका लागि दश÷दश लाख रुपैयाँ बजेट छुट्ट्याइएको छ ।

यसैगरी सदरमुकामस्थित म्याग्दी बहुमुखी क्याम्पसको भौतिक निर्माणका लागि १२ लाख तथा कुहुँमा खेलमैदान सुधार गर्न १० लाख रुपैयाँ बजेट उपलब्ध गराउने निर्णय भएको छ । दलहरूको निर्वाचन केन्द्रित कार्यक्रम तथा भोटका आधारमा विनियोजन हुने बजेटका कारण विगतमा कार्यविधि अनुसार काम हुन सकेको थिएन् ।

विज्ञापन