(प्रताप बानियाँ)
पश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक कमलसिंह बमले अपराध गर्न खोज्ने अपराधीको अनुकुल अवसरलाई ब्रेक गर्नुपर्ने बताएका छन् । सिसिटिभी क्यामेरा जडान तथा व्यवस्थापन उपभोक्ता समिति म्याग्दीले बुधबार सदरमुकाम बेनीमा आयोजना गरेको सिसिटिभी क्यामेराको उद्घाटन गर्दै उनले अनुकुल समयमा अपराधीले अपराध गर्न सक्ने भएकाले त्यसको न्युनीकरण गर्नुपर्ने बताएका हुन् ।
उनले बदलिँदो परिस्थितिमा सुरक्षामाथी चुनौती बढिरहेको र विश्वस्त भएर बस्ने अवस्था नरहेको बताउँदै नयाँनयाँ ढङ्गले अपराध हुने गरेकाले सचेत रहनुपर्ने बताए । प्रनामनि बमले पछिल्लो समय दुरदराजमा बसेर पनि अपराध भैरहेको हुँदा सञ्चारका साधनहरुले समेत आपराधिक क्रियाकलाप वृद्धि गर्न सहज वातावरण निर्माण गरिरहेको भन्दै सावधानी अपनाउनुपर्नेमा जोड दिए ।
उनले सुरक्षाको प्रत्याभूति दिलाउनु राज्यको दायित्व भएको बताउँदै सुरक्षाको महशुस गर्न गराउन सबै एकजुट भएर लाग्नुपर्ने बताए । सोही कार्यक्रममा बोल्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले सबै ठाउँमा सुरक्षाका लागि प्रहरी पुग्न नसक्ने भएकाले प्रविधिको प्रयोगमार्फत पनि अपराध न्युनीकरण गर्नुपर्ने बताए । उनले बेनीमा जडान गरिएको सिसिटिभी क्यामेराले अपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग पुग्ने भन्दै आगामी दिनमा सबैको सहयोगले जिल्लाको अन्य ठाउँमा प्रविधि जडान गरिने बताएका थिए ।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष एवं सिसिटिभी क्यामेरा जडान तथा व्यवस्थापन उपभोक्ता समितिका संयोजक जीवनबहादुर विश्वकर्माले भूकम्प, बाढीपहिरो, नाकाबन्दीलगायतका समस्याका कारण समयमै सिसिटिभी जडान गर्न नसकिएको बताए । उनले सिसिटिभी स्थापना कार्यलाई निरन्तरता र दिगोपना दिन आर्थिक स्रोतको जोहो गर्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र म्याग्दीका संयोजक गोविन्द पौडेल, स्थानीय विकास अधिकारी प्रेमराज गिरी, बेनी नगरपालिकाका कार्यकारी अधिकृत छविलाल सुवेदी, म्याग्दी उद्योग वाणिज्य संघका भूतपूर्व अध्यक्ष सुदर्शनकुमार श्रेष्ठ, गरिमा विकास बैङ्कका प्रवन्धक कमलप्रसाद ढुङ्गाना, म्याग्दी सुनचाँदी व्यवसायी संघका अध्यक्ष दिपेन्द्रकुमार श्रेष्ठ र पत्रकार महासंघ म्याग्दीका अध्यक्ष सुरत केसीले मन्तव्य राखेका थिए ।
कार्यक्रमको अवसरमा सिसिटिभी क्यामेरा जडान र सञ्चालनमा आर्थिक तथा विद्युत उपलब्ध गराउने सहयोगदातालाई कदरपत्रले सम्मान गरिएको थियो । कार्यक्रम उवासंघ अध्यक्ष जीवन विश्वकर्माको अध्यक्षता तथा स्वागत, प्रहरी नायव उपरीक्षक विश्वराज खड्काको समापन र प्रहरी निरीक्षक लोकेन्द्रसिङ गुरुको सञ्चालनमा सम्पन्न भएको थियो । म्याग्दी उद्योग वाणिज्य संघको पहल, जिविस नगरपालिका बैङ्क तथा वित्तिय संस्था, उद्योगी व्यवसायीलगायतको सहयोग र जिल्ला प्रहरी कार्यालय म्याग्दीको सञ्चालन तथा व्यवस्थापनमा तत्कालका लागि बेनीका विभिन्न १६ ठाउँमा सिसिटिभी क्यामेरा जडान गरिएको छ ।
घर स्थानिय समाचार म्याग्दी समाचार सिसिटिभी क्यामेरा जडानले अपराधीको अनुकुल अवसरलाई ब्रेक गर्नुपर्छ : बम