३ अर्ब ८८ करोड लागतमा बेनी–जोमसोम–कोरला सडकखण्डको स्तरोन्नति हुँदै

1

(धु्रबसागर शर्मा)
बेनी–जोमसोम–कोरला सडकखण्डको स्तरोन्नति गरी उत्तरी नाका चीनसंग द्विपक्षीय व्यापार विस्तार गर्ने सरकारी योजना अनुसार बेनी–जोमसोम हुँदै नेपालको उत्तरी नाका कोरलासम्मको सडको स्तरोन्नति हुने भएको छ ।

साँघुरो र जोखिमपूर्ण बेनी–जोमसोम–कोरला सडकमा सवारी संचालन भइरहेपनि सडकको स्तरोन्नति गरी पर्यटकीय र व्यापारिक केन्द्रमा स्थलमार्गको पहुँच बढाउन दुई छुट्टाछुट्टै युनिट खडा गरी काम अघि बढाइने बेनी–जोमसोम–कोरला आयोजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए ।

आयोजना प्रमुख सुवेदीका अनुसार बेनीदेखि जोमसोमसम्मको ७६ किमि दुरीको सडक ११ मिटर चौडा बनाइ कालोपत्रे गर्ने र १ सय १० किमि दुरीको जोमसोम–कोरला सडकलाई दुई खण्डमा बाँडेर स्तरोन्नति गरिने निश्चित भएको छ । बेनी–जोमसोम खण्ड कालोपत्रेका लागि चार खण्डमा विभाजन गरी काम अघि बढाइने छ । आयोजना प्रमुख सुवेदीका अनुसार बेनी–जोमसोम खण्ड कालोपत्रेका लागि केही दिनमै टेन्डर गरिँदै छ ।
images-17
तीन वर्ष भित्र काम सक्ने लक्ष्यका साथ चारवटा ठेकेदारमार्फत काम गर्ने योजना रहेको र अहिले लागतको ‘भेरिफिकेसन’ भइरहेको उनले बताए । आयोजना प्रमुख सेवेदीले भने ‘बेनी–जोमसोम खण्डमा नौवटा पक्की पुल बन्नेछन् । तीमध्ये दुईवटा पुल बनिरहेका छन् । बाँकी सातवटा पनि मोटरेबल पक्की पुल वनाइने छ ।’ उनका अनुसार अहिले सञ्चालनमा रहेका सबै बेलिब्रिज हटाएर सट्टामा पक्की पुल बन्नेछन् । आयोजना प्रमुख सुवेदीका अनुसार बेनी–जोमसोम खण्ड कालोपत्रे गर्न करिब ३ अर्ब ८८ करोड रुपैयाँको लागत स्वीकृति अर्थमन्त्रालयले दिएको छ । जोमसोम–कोरला सडक स्तरोन्नति गर्न पनि करिब साढे ३ अर्ब रुपैयाँ लागत लाग्नेछ । बेनीदेखि कोरलासम्मकै सडक स्तरोन्नति गर्न नेपाल सरकारको लगानी रहने आयोजना प्रमुख सुवेदीले बताएका छन् ।

सुवेदीका अनुसार ठेक्का सम्झौता भइसकेको माथिल्लो खण्डका लागि मात्र सरकारले यस वर्ष करिब ४० करोड रुपैयाँ विनियोजन गरेको छ । सम्झौतापछि तल्लो खण्डलाई पनि बजेट आउनेछ । ‘सरकारको मुख्य प्राथमिकतामा परेको बहुवर्षे आयोजना हुन् । त्यही भएर दुईवटै खण्डको कामलाई बजेट अभाव हुँदैन,’ उनले भने ।

1 COMMENT

Comments are closed.