(गोपाल आचार्य)
पश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक कमलसिंह बमले जनता बर्दीविनाको प्रहरी भएको बताएका छन् । बमले जनता र प्रहरीको सहकार्यबाट समाजमा शान्ति स्थापनाको सम्भव रहेको बताउनु्भयो ।
पश्चिम म्याग्दीको ताकम गाविसमा नवनिर्मित प्रहरी चौकीको भवन उद्घाटन गदैं प्रहरी नायव महानिरीक्षक बमले समाजमा हुने अपराधिक घटनालाई न्यूनिकरण गर्न प्रहरीले जनतासंग सधै सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता समेत जनाउनुभएको थियो । पश्चिम म्याग्दीको ताकम गाविसमा रहेको प्रहरी चौकीको उद्घाटनको अवसरमा प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक बमले अपराध गर्न खोज्ने अपराधिको अनुकुल अवसरलाइ ब्रेक गर्न प्रहरीले जनतासंग अभियानमुखी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
उद्घाटन कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले म्याग्दी जिल्लाका जनताले सुरक्षा निकायसंग सहकार्य गरी शान्ति सुरक्षा स्थापनामा खेलेको भूमिकाबाट उत्साहित रहेको बताउन्भयो । उहाँले मेलापर्व तथा अन्य गतिविधिहरुमा समेत जनताले प्रशासनसंग अनुमति लिएर सञ्चालन गर्न थालेपछि अपराधिक घटनामा कमी आएको समेत बताउनुभयो । प्रहरीचौकीको उद्घाटनमा पुगेका प्रमुख अतिथि लगाएत जिल्लाका विशिष्ट अधिकारीलाई स्थानीयबासीले भब्य सम्मान तथा स्वागत गरेका थिए ।
उद्घाटनको अवसरमा पश्चिम म्याग्दीको शान्ति सु्रक्षा तथा प्रहरीले गरिरहेको गतिविधिका बारेमा समेत जानकारी गराइएको थियो । सोही अवसरमा म्याग्दीका प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले जिल्लाभर रहेका प्रहरी चौकी मार्फत शान्ति सुरक्षा कायम र स्थानीयस्तरमा भइरहेका विकास निर्माण लगाएतका गतिविधिमा प्रहरीको सक्रियतासंगै प्रहरी चौकीको माग भएका स्थानका बारेमा समेत जानकारी गराउनुभएको थियो ।
स्थानीयबासीको सक्रियतामा उपलब्ध गराइएको करिव ५ रोपनी जग्गामा करिव ९३ लाखको लागतमा निर्मित भवन जिल्लाभर रहेको प्रहरीचौकीको भवनमा सबैभन्दा सुविधासम्पन्न र आर्कषक रहेको प्रहरीले जनाएको छ ।कार्यक्रमको सञ्चालन इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरिक्षक उपेन्द्र पुरुष तिमिल्सिनाले सञ्चालन गनुर््भएको थियो । ताकम प्रहरी चौकीमा १० जना प्रहरी कार्यरत छन् । ताकम, मराङ, मुदी, मुना लुलाङ, गुर्जा गाविसका जनतालाई सुरक्षा दिन २०६८ साल देखी निर्मित भवन विचमा रोकिएको थियो ।