म्याग्दी र बागलुङ जिल्लाको सीमाना भएर बग्ने ठूलो खोलामा पुल नहुँदा खोला वारी पारीका दुवै जिल्लाका वासिन्दाहरु समस्यामा परेका छन् । म्याग्दीको बेनी नगरपालिका वडा नं ३ र बागलुङकोे पञ्चासेको सीमाना भएर बग्ने ठूलोखोलामा पुल नहुँदा दुवै जिल्लाका २ हजार बढी जनता समस्यामा परेका हुन् ।

हिउँदमा कुनै समस्या नभएपनि वर्षामा खोलो वारपार गर्न नसक्दा समस्या हुने गरेको वेनी नगरपालिका वडा नं ३ का दिलवहादुर थापाले वताउनु भयो । पुल नहुँदा म्याग्दीका विमिरावोट,तमाने,गौश्वारा,भकुण्डे, अर्जम र बागलुङ जिल्लाका मालिका,पञ्चासे,खर्क , लगाएतका गाउँका सयौं मानिसहरुले सास्ती व्यहोर्नु परेको थापाले जानकारी दिनुभयो ।

समस्याका वारेमा दुवै जिल्लाका वासिन्दाहरुले आआफ्नो गाविस,नगरपालिका तथा जिल्लामा समेत जानकारी गराई पुल निर्माणका लागि अनुरोध गरेका भएपनि कुनै निकायले पनि ध्यान नदिएको स्थानीय वासिन्दाहरुको गुनासो रहेको छ ।