नारच्याङमा लडेर लुलाङका चन्द्र बहादुर बुढाको मृत्यु

0

उत्तरी म्याग्दीको नारच्याङ गाविस–१ मा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । सडकबाट तल बेवारिसे अवस्थामा शव भेटिएपछि स्थानीयले सिमा प्रहरी चौकी भुरूङ तातोपानीलाई खवर गरेका थिए ।

शुक्रबार राती भेटिएको शवका बारेमा प्रहरीको अनुसन्धाबाट मृतक जिल्लाको लुलाङ गाविस–१ घर भई हाल नारच्याङ–७ मा निर्माणधिन अवस्थामा रहेको मिस्त्रीखोला जलविद्युत आयोजनामा कार्यरत ३३ बर्षिय चन्द्र बहादुर बुढा थापा रहेको प्रहरीले जनाएको छ ।

भुरुङ तातोपानी बजारबाट फर्कने क्रममा नारच्याङ–१ पधेरामा सडकबाट करिव ११ मिटर तल खसेर मृत्यु भएको प्रारम्भीक अनुसन्धानमा खु्लेको प्रहरी निरिक्षक लोकेन्द्र सिंह गुरूले बताए । उनका अनुसार मृतकको शव पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको छ । प्रहरी निरिक्षक गुरूको नेतृत्वमा जिल्लाबाट गएको ७ जनाको टोलीले मृतकसंगै आयोजनमा काम गर्नेहरूसंग समेत सोझपुछ गरेको थियो ।