म्याग्दीको बेनी नगरपालिका–२ अर्जमकी मुटु रोगबाट ग्रसित अरुनीमा नेपालीलाई आर्थिक सहयोग भएको छ । सोमबार सदरमुकाम बेनीमा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा मुटु रोगबाट पीडित बालिकाको उपचारका लागि भन्दै युएई र कोरियामा सङ्कलित रकम ओमकुमारी शान्ति कोषमार्फत सहयोग गरिएको हो ।
20161219_170305
मोना युएईका अध्यक्ष प्रदिप सुवेदीले युएईमा अरुनीमाको उपचारका लागि अभियान सञ्चालन गरी सङ्कलन गरिएको रकम नगद २० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए । यसैगरी अबित्रा फगामीले कोरियामा सङ्कलन गरेको १० हजार ८ सय रुपैयाँ पनि हस्तान्तरण गरेकी छिन् । दुवै देशमा सङ्कलित रकम उनीहरुले ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गरेका छन् ।
20161219_164739
कार्यक्रममा मोना युएईका अध्यक्ष सुवेदी र मोना नागैया जापानका वरिष्ठ उपाध्यक्ष अमृत पौडेलले प्रवासमा रहेर पनि आफुहरुले जिल्लाको सामाजिक क्षेत्रमा सहयोग गर्दै आइरहेको बताएका थिए । कार्यक्रमको अवसरमा उनीहरुलाई स्वागत गर्नुका साथै शान्ति कोषको आजीवन सदस्यता समेत प्रदान गरिएको थियो । कार्यक्रममा ओमकुमारी शान्ति कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसीले मन्तव्य राखेका थिए । कार्यक्रम शान्ति कोषका अध्यक्ष राजेश शाक्यको अध्यक्षता, उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत र सचिव लोकेश पुनमगरको सञ्चालनमा सम्पन्न भएको थियो ।