जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजनामा सोमबार म्याद नाघेका दैनिक उपभोग्य वस्तुहरु नष्ट गरिएको छ । गएको बिहीबार आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा सदरमुकाम बेनीका पसलहरुमा अनुगमनका क्रममा भेटिएका अखाद्य वस्तुहरुलाई नष्ट गरिएको हो ।

विभागका निर्देशक निरज पौडेलको अगुवाइमा बेनीको ईन्द्रेणीटोलमा सञ्चालित लिला स्टोर्स र न्युरोडको जय पौलस्त्य ट्रेड कन्सर्नमा गरिएको अनुगमनबाट म्याद गुज्रिएका दैनिक उपभोग्यलगायतका सामाग्रीहरु जफत गरिएको थियो । ती पसलबाट ५ सय ग्रामको प्राउन ५१ थान, (नाम उल्लेख नभएको) पानपुरी भन्ने ४ सय तथा ८ सय ग्रामको एकएक थान, कोकाकोला, स्प्राईट १ लिटरका १८ बोतल, साढे १ लिटरको एक बोतल र कोकाकोला, फेन्टा र स्प्राईट ५ सय मिलिको १ सय ३९ बोतल जफत गरिएको थियो ।
img_00344
यसैगरी काल्र्सवग बियर ६ सय ५० मिलिको एक लिटर, कोकाकोला, फेन्टा, स्प्राईट ५ सय मिलिको २७ बोतल, फेन्टा एक लिटरको १२ बोतल, फेन्टा ३ सय मिलको ६ बोतल, स्प्राईट साढे १ लिटरको ५ बोतल र डाईजेष्टिभ बिस्कुट २ सय ५० ग्रामको ५ ओटा जफत गरी नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

म्याद गुज्रिएका उक्त सामाग्रीलाई जिल्ला प्रशासन कार्यालयको परिसरमा नष्ट गरिएको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोखरेलले बताए । जफत गरिएका सामाग्री सहायक प्रजिअ पोखरेल, प्रशासनका कर्मचारी, प्रहरी, म्याग्दी उद्योग वाणिज्य संघका प्रतिनिधि, पत्रकारलगायतको रोहबरमा नष्ट गरिएको थियो ।