(हरिकृष्ण गौतम)
तीनबर्ष अगाडी छिमेकी गाँउ डडुवाबाट तीनवटा मौरीको घारबाट मौरीपालन सुरू गरेका म्याग्दीको कुहुँ–३ मौलाथरका गोविन्द खत्रीले मौरीपालनमा ब्यस्त छन् । मौरीसहितको प्रतिघार ३५ सयको दरले खरिद गरी विना अनुभव मौरीपालन गरेका खत्रीले जिल्ला कृषि विकास कार्यालयको प्राविधिक सहयोगमा लिएको तालिमले एकबर्षमै घारको संख्या बढाए ।

बैदेशीक रोजगारको सिलसिलामा डेढ दशक साउदी अरब र इराकमा विताएर घर फर्किएका खत्रीले मौरीपालनको प्रयास गर्दा घरपरिवार र आफन्तले विदेश फर्कन गरेको अनुरोधलाई बेवास्ता गरेर मौरीपालनमै सक्रिय भए ।‘मौरीपालन गरिरहेका कृषकले अपेक्षा गरे अनुसारको सहयोग गरेनन्,केहीमहिना मौरीले टोक्दा समेत निरन्तर मौरीसंग खेले’ खत्रीले भने । उनले विदेशमा बर्षभरी कमाएको पैसाको हाराहारीमा घरखेतमै कमाउन थालेपछि विदेश जान आग्रह गर्ने आफन्तहरूले समेत मौरीपालनका बारेमा बुझ्न आउने गरेको बताए ।

‘मौरीपालनबाट मैले गाउँमै बार्षिक ९ लाखको हाराहारीमा कमाइरहेको छु । विश्वका जुनकुनै देशमा पुगेपनि घरमा जस्तै कमाई हुदैन’ खत्रीले भने । उनले अमेरिका,बेलायत, कोरिया लगाएतका देशमा रहेका साथीहरूले सामाजिक सञ्जालमा कमाईका बारेमा जिज्ञासा राख्दा थप उत्साहित हुने गरेको बताए । गतबर्ष १ सय ५० केजी मह, ९४ वटा घार सहित मौरी विक्री गरेका खत्रीसंग ९२ वटा घार रहेका छन् । यसबर्ष २ सय घार मौरी विक्री गर्ने लक्ष्य बनाएका खत्रीले घार सहितको मौरीलाई ७ हजारमा विक्री गर्ने गरेका छन् ।

घरगोठ र आसपासका खेतबारी मौरीले सजाएका खत्रीले मौरीपालनका बारेमा जानकारी लिन आउनेलाई खेलेरै आफ्नो अनुभव सुनाउने र प्रयोगात्मक अभ्यास समेत गरेर देखाउँछन् ।‘एक घर एक घारको अभियान समेत सुरू गरेको छु। मौरीपालनबाट गाउँले धनी भएको हेर्ने मेरो चाहना छ’खत्रीले भने । नेपालमा आफुँले गरेको सफल ब्यवसाय अर्कोले सुरू गरे क्षती हुने परम्परागत सोच रहेका कृषकहरूका कारण नयाँ कृषक पाउन मुस्किल हुने गरेको बताउँदै खत्रीले केहीबर्ष भित्र जिल्लाकै मौरीपालनमा स्रोतकेन्द्रको रुपमा स्थापित गर्ने दावी समेत गरे । कृतिम रानो समेत बनाउने गरेका खत्रीले घरमै मौरील

राख्न आवश्यक पर्ने आधुनिक घार बनाउन थालेपछि दुईबर्ष यता आम्दानी बढेको बताउँछन् । एउटा घारमा ४ घार मौरी उत्पादन गर्ने खत्रीले घरबाटै प्रतिकेजी १ हजार ३ सय रुपैयाँमा विक्री गर्ने गरेका छन् । ‘महभन्दा मौरी विक्री गर्दा फाईदा हुन्छ । मागको ४० प्रतिशतमात्रै खपत हुने गरेको छ’ उनले भने । प्रत्येक वर्षको असोज १५ देखि मंसिर १५ र फागनुदेखि जेठ महिना विशेष गरी मौरीको हेरचाहमा समय बिताउने गरेको उनको अनुभव छ ।हाल उनले ८० ओटा आधुनिक र १२ ओटा मुढे घारहरुमा मौरीपालन गरिरहेका छन् ।

जिल्लाका विभिन्न गाविसका साथै छिमेकी पर्वत र बागलुङसम्म मौरी र घार बिक्री गरेका खत्रीले तीनसय वटा घार बनाउने गरी संरचना र आवश्यक तयारी गरेका छन् । यसवर्ष कृषि कार्यालयले राष्ट्रपति उत्कृष्ट पुरस्कारसहित नगद १० हजार रुपैयाँ र प्रमाणपत्रले सम्मानित भएका खत्रीले मौरीपालनको आम्दानीले घरखर्चसंगे केही नगद बैंकमा मुद्धती राख्नुका साथै ब्यवसायलाई सहज बनाउन मोटरसाइकल समेत खरिद गरेको बताए । उनले बार्षिक १५ देखी १७ लाखसम्म कमाउने गरी चरनक्षेत्र र छिमेकीको घरमा समेत घार राख्ने योजना बनाएका छन् ।

राज्यको घोषणा पिपलको पातजस्तै
कृषि पेशामा सक्रिय रहेका कृषकलाई पेन्सन र सहुलियतमा ऋण उपलब्ध गराउने राज्यको घोषणाले उत्साहित भएका खत्रीले सरकारको घोषणा पिपलको पातजस्तै भएको बताए । गाउँघरमै आफ्नै मेहनतबाट लाखौं कमाउन सकिने प्रसस्त सम्भावना भएपनि सरकारले कृषकलाई प्रलोभन देखाउने काम मात्रै गरेको बताए । ‘सहुलियतमा ऋण उपलब्ध गराए दुईतीनबर्ष भित्र विदेश जाने यूवाको संख्या घट्छ ।गाउँमै यूवालाई रोक्न सके त्यसले गाउँको विकासमा ठुलो योगदान पुग्छ’ खत्रीले भने ।उनले सरकारी तथा ठुला बैक तथा वित्तिय संस्थाबाट अपेक्षा गरेअनुसारको सस्तोब्याजदरमा ऋण प्राप्त गर्न नसक्दा कृषकले सहकारी तथा ब्यक्तिबाट समेत चर्कोमा आर्थिक जोहो गरेर ब्यवसाय सुरू गरेको बताए ।

उनले कृषिमा राज्यलेआर्कषण भन्दा पनि निरूत्साहित गर्ने खोजेजस्तो देखिएको बताए। उत्पादन र बजारीकरणमा सहयोग भएमा खाडीमुलुका अधिकांस यूवाहरू स्वदेश फर्कने उनको दावी छ । मासिक २० देखी ५० हजार कमाउन खाडी छिरेका यूवाहरूलाई पासर्पोट च्यातेर फर्कने वातावरण बनाउन सके मौरी, पशुपालन, कृषिजन्य बस्तुका साथै सानो लगानीमा मनग्य आम्दानी हुने क्षेत्र प्रसस्तै रहेको खत्रीले बताए । जिल्लामा बैदेशिक रोजगारबाट फर्किएका यूवाहरूले सुरू गरेको कृषि र पशुपालन सफल मानिन्छ । हरेकबर्ष जिल्लातहमा गरिने स्थानीय तथा राष्ट्रियस्तरका पुरस्कार समेत अधिकांस विदेशबाटै फर्किएका यूवाहरुले प्राप्त गर्ने गरेका छन् ।