म्याग्दीका जनता आवास कार्यक्रममार्फत १ सय घर निर्माण गरिने

0

(हरिकृष्ण गौतम)
जनता आवास कार्यक्रम अन्र्तरगत म्याग्दीमा १ सय घर निर्माण हुने भएका छन् । यसबर्षदेखी सुरू भएको कार्यक्रम अन्र्तरगत बेनी नगरपालिका र ९ वटा गाविसमा विपन्न गरिव, दलित परिवारका साथै आर्थिक अवस्था कमजोर भएकाहरूको घर निर्माण हुने सांसद रेशम बहादुर बानियाँले बताए ।

बुधबार जिविसमा आयोजित पत्रकार सम्मेलनमा बेनी नगरपालिकाको पुलाचौर, घतान, सिंगा र अर्थुङेका साथै भकिम्ली, दाना, लुलाङ, ओखरबोट, रुम, ताकम, पिप्ले, भगवती र घार गाविसमा १ सय वटा घर निर्माण गरिने सांसद बानियाँले बताए । जिल्लास्थित कार्यदलको संयोजक समेत रहेका बानियाँले अति विपन्न र राज्यको मापदण्डमा रहेका काम गरिने बताए । पत्रकार सम्मेलनमा सहरी विकास कार्यालय बागलुङका डिजी प्रकाश अर्यायले चार किस्तामा अधिकतम २ लाख ३४ हजार रुपैयाँ उपलब्ध गराइने बताए ।

उनले प्राविधिकको टोली तोकिएका क्षेत्रमा स्थलगत अनुगमन र मापदण्ड अनुसार छनौट गर्ने भएकाले पनि केही समय लाग्ने बताए । कार्यक्रम अन्र्तरगत शौचालय सम्बन्धित घर परिवारले बनाउनुपर्ने र अन्तिम भुक्तानी समेत काम सम्पन्न भएपछि उपलब्ध गराइने छ । पत्रकार सम्मेलनमा कार्यक्रमलाई प्रभावकारी बनाउन जिल्लामा रहेका सम्बन्धित कार्यालय संग समन्वय गरिने समेत जनाइएको थियो । आगामीबर्ष लक्षित बर्ग सहित आर्थिक अवस्था कमजोर भएका अन्य समुदायलाई समेत कार्यक्रम अन्र्तरगत सहयोग गर्ने गरी ३ सय घर निर्माणको बजेट समेत माग गरिएको छ ।

जिल्ला समन्वय समितिको बैठकले छनौट गरेका गाविसबाट निवेदनका साथै जग्गाधनी पुर्जा, नागरिकताको प्रतिलिपि सहित सम्बन्धित गाविस र वडाको सिफारिस पेश गर्नुपर्नेछ । घरधनीले आफुले थप लगानी गरेर समेत राम्रो घर निर्माण गर्न सक्ने भएपनि सम्झौता र मापदण्ड पुरा गर्नुपर्ने समन्वय समितिले जनाएको छ । समन्वय समितिमा जिल्लाका लक्षित कार्यालयका साथै सांसद नवराज शर्मा समेत सदस्य रहेका छन् ।