(धु्रबसागर शर्मा)
भएको सम्पत्ति लोग्नेले बेचेर सकेपछि घरवारविहीन बनेकी म्याग्दीकी एक ८२ वर्षिया बृद्धा खाने अन्न र ओढ्ने कपडा नहुँदा अर्काको घरमा भोकै जाडोमा कठ्याङ्ग्रिएर रात र दिन कटाउन बाध्य भएकी छन् ।

म्याग्दीको बेनी नगरपालिका वडा नं ४ खबरा, पिपलडाँडाकी ८२ वर्षिया इन्द्रकली भण्डारी बगरफाँट बाङ्गेरामा अरुको घरमा एक्ल,ै भोकभोकै र कपडाको अभावमा पुसको जाडोमा कठ्याङ्ग्रिदै बाँच्न बाध्य हुनुभएको हो ।१० वर्ष अघि श्रीमान प्रेमवहादुर भण्डारीले खबरामा रहेको सम्पूर्ण सम्पत्ति वेचेर सकेपछि घरवार विहीन भएकी भण्डारी ९ वर्ष अघि श्रीमानको समेत मृत्यु भएपछि एक्लै अर्काको घरमा कोठी मागेर बस्नुभएको छ । भण्डारीले आफ्ना छोराछोरी र कतै आफन्तहरु पनि नभएको बताउनुभयो ।

बेनी नगरपालिका ४ बाङ्गेरामा लक्ष्मण बोगटीको घरको कोठीमा आश्रय लिएकी भण्डारी खाने खर्च नभएपछि पाँच दिनदेखि अरुले दिएको अन्न एक छाक मात्र खाएर वसेको बताउनुहुन्छ । ‘आज पाँच दिन भयो, एक छाक मात्र खाएर बसेकी छु, आफ्नो खेतवारी केही छैन,किनेर खाने पैसा पनि छैन,अरुले दया गरेर दिएको खानेकुरा फारु गरेर एक छाक मात्र खान्छु’ बुधवार बेनी अनलाइनसंग भण्डारीले भन्नुभयो ।

बृद्धा भण्डारीले सहृदयी व्यक्ति र संघसंस्थाहरुसंग जाडो कटाउनका लागि केही कपडा र खानेकुरा सहयोग गरिदिन समेत आग्रह गर्नुभएको छ । ‘म बेसहारा छु, न सम्पत्ति छ ,न आफन्त कोही छन्’ भण्डारीले गहभरी आँशु निकालेर भन्नुभयो ‘ म बूढीलाई कसैले सहयोग गरे धेरै धेरै आशिष लाग्ने थियो ।’