(प्रताप बानियाँ)
मंसिर अर्थात् वनभात खाने महिना । सदरमुकाम बेनीसहितका विभिन्न विद्यालयले कास्कीको काँडेसम्म विद्यार्थी पु¥याएर वनभात ख्वाए । वनभात खान काँडेसम्म पुग्नुको अर्थ हो नजिकै देखिने हिमशृङ्खला । हिमाललाई पिठ्युँ पछाडि पारेर फोटो खिचाउने अनि वनभात खाँदै रमाइलो गर्नुको आनन्द बेग्लै हुन्छ । म्याग्दीका विद्यालय, कलेज र अन्य संघसंस्थाहरुले पछिल्लो केही वर्षयता कास्कीसम्म पुगेर वनभात खाने गरेका छन् ।
img_0148
अझ वनभोजस्थलको भाडावापत हजारौं रुपैयाँ भाडा पनि तिर्छन् । तर, जिल्लाभित्रका विभिन्न ठाउँलाई पिकनिक स्पटको रुपमा विकास गर्नेबारे कसैको ध्यान पुगेको छैन । म्याग्दी सदरमुकामबाट केही घण्टाको दुरीमा पुग्न सकिने टोड्के, रुईसे, गाजने यस्ता ठाउँ हुन् जसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने हो भने जिल्लाले राम्रो आम्दानी गर्न सक्छ ।

टोड्के क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नेबारे केही वर्षयता टोड्के क्षेत्र विकास कोष सकृय बन्दै आएको छ । यस्तै राखुको रुईसे क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउनका लागि रुईसे–भेडीओढार पर्यटन विकास समितिले काम गरिरहेको छ । समिति गठनजस्ता प्रारम्भिक कामबाहेक पर्यटकको सङ्ख्या बढाउने गरी ती क्षेत्र टोड्के र रुईसेमा उल्लेख्य काम हुन सकेको छैन ।

यस्तैमध्येको रमणीय ठाउँ हो गाजनेमा रहेको गुफा डिल । पछिल्लो केही वर्षयता ‘केभ हिल’समेत भन्न थालिएको गुफाको डिलबाट संसारकै सातौं अग्लो धौलागिरि हिमाल आँखै अगाडि देखिन्छ । बेनी नगरपालिका–१२ गाजनेस्थित जगन्नाथ मन्दिरनजिकै पर्ने गुफाको डिल धार्मिक तथा पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण ठाउँ हो । ऐतिहासिक महत्वको जगन्नाथ मन्दिरमा दर्शन एवं पूजाका लागि पुग्ने जो कोही पनि केही क्षणका लागि भए पनि गुफाको डिलमा पुग्ने गरेका छन् । यसले पनि यो ठाउँको महत्व प्रस्टिन्छ ।

बेनीको शिरमा रहेको गुफाको डिलबाट नेपालकै दोस्रो अग्लो हिमशृङ्खला धौलागिरिसहित अन्नपूर्ण, माछापुच्छ«े, निलगिरी, मानापाथी, गूर्जा, गणेश हिमाललगायतका दर्जनौं हिमश्रृङखलाहरुको प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । धौलागिरि हिमालमा मात्रै विभिन्न ६ वटा चुचुराहरु छन् । आफ्नो आँखै अगाडि देखिने सेताम्मे हिमालहरुको सौन्दर्यले पर्यटकलाई लोभ्याउने गरेको छ । तर, त्यहाँसम्म पुग्ने पहुँचमार्ग गतिलो नहुँदा गुफा डिललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने सम्भावना केबल सम्भावनामै सीमित बनेको छ ।
img_00134
गुफाको डिलबाट हिमशृङ्खला मात्रै होइन म्याग्दीका ४१ मध्ये ३७ ओटा गाविस पनि देखिन्छ । यसैगरी पर्वतको उत्तरी भू–भाग, बागलुङ जिल्लाको केही भाग र अन्य जिल्लाको डाँडाकाँडा समेत त्यहाँबाट देख्न सकिन्छ । म्याग्दी सदरमुकाम बेनीबाट पैदल हिँडेर ३ घण्टा र गाडीबाट डेढ घण्टाको समयमा पुगिने गुफाको डिल समुन्द्री सतहदेखि २ हजार १ सय मिटरको उचाइमा अवस्थित छ । गुफाको डिलमा २ ओटा हेलिकप्टर अवतरण गर्न मिल्ने ठाउँ पनि रहेको छ । उक्त ठाउँबाट सेताम्मे हिमाल र राताम्मे लालीगुराँसका वनजङ्गलहरु देख्न पाइन्छ ।

जगन्नाथ मन्दिरदेखि ५ मिनेटको दुरीमा रहेको गुफा डिलको प्रचारप्रसार तथा भौतिक पूर्वाधारको विकास गर्न सकेमा स्वदेशी र विदेशी पर्यटकहरु भिœयाउन सकिने जगन्नाथ आधारभूत विद्यालयका प्रधानाध्यापक निलकण्ठ शर्माले बताए । प्रसिद्ध गलेश्वर मन्दिर, पौलस्त्य पुलहाश्रम र जगन्नाथ हुँदै पर्यटकीय क्षेत्र टोड्के जोड्ने पदयात्रा निर्माण गर्न सकेमा पनि पर्याप्त मात्रामा पयर्टकहरु तान्न सकिने उनको भनाई छ ।सन् १५६० मा तत्कालीन राजा दिलिपबम मल्लले भारतको उडिसा राज्यबाट जगन्नाथको मूर्ति ल्याएर जगन्नाथ मन्दिरको स्थापना गरेका थिए ।