म्याग्दीको भगवती–३ की बोनम्यारो र रक्तक्यान्सरबाट पिडित सीता ( कृष्णकुमारी) कटुवाल क्षेत्रीको उपचारको लागि सुरु गरिएको सहयोग संकलन अभियान अन्र्तगत शुक्रवार रु ३ लाख बढी सहयोग जुटेको छ । क्षेत्रीको उपचारमा लाखाँै रुपैयाँ आबश्यक पर्ने भएपछि सहयोग जुटाउन सुरु गरिएको अभियानको तेस्रो दिन शुक्रवार मात्रै ३ लाख ६ हजार ५ रुपैयाँ संकलन भएको अभियानका सदस्य हरि भण्डारीले जानकारी दिनुभयो ।

अभियानमा भगवती–५ कोलमुनीका कर्ण बहादुर कार्कीका छोराहरु शिब, कृष्ण र अमृत कार्कीले रु १ लाख ५ हजार ५ रुपैयाँ सहयोग गरेका छन् । उक्त सहयोग बेनीमा सहयोगदाता कार्की परिवारको तर्फबाट बिनिता कार्कीले रिम कटुवाललाई हस्तान्तरण गर्नुभएको थियो ।

त्यसैगरि पिप्ले–७ कलेजाबाङ निवासी लक्ष्मण भण्डारी, राजिन भण्डारी र राम्जी भण्डारीले रु १ लाख, बेनी पिपलचोक निवासी क्षेत्रबहादुर केसी र सोभा केसीले रु ५१ हजार, भगवती–२ का महेन्द्र केसी र टिका केसीले रु १० हजार ५ सय र पिपलचोकमा रहेको आस्था कलेक्सनका प्रोपाईटर रमेश भण्डारी, गणेश भण्डारी र सरस्वती भण्डारी कार्कीले रु १० हजार सहयोग गरेका छन् । त्यसैगरि म्याग्दीकालि यातायात प्रालिबाट रु १० हजार, भगवती–७ का भगवान कार्कीले रु ५ हजार, भगवती–२ का रमेश कार्की र विष्णु कार्कीले रु ५ हजार सहयोग गर्नुभएको समितिले जनाएको छ । अभियानको दोस्रो दिन बेनीमा मात्रै रु ७१ हजार र पहिलो दिन २ लाख ४४ हजार ५ सय आर्थिक संकलन भएको थियो ।

टिचिङ अस्पताल काठमाण्डौमा उपचाररत क्षेत्रीको उपचारमा लाखौँ रुपैयाँ लाग्ने भएपछि आबश्यक सहयोग रकम जुटाउन अभियान सुरु भएसंगै स्वदेश तथा विदेशमा रहेका राखुबासिको सक्रियतामा आर्थिक संकलन अभियान सञ्चालन भईरहेको समितिका संयोजक नन्दबहादुर खत्रीले बताउनुभयो । क्षेत्रीको उपचारको लागि आर्थिक सहयोग गर्ने दाताहरुले बेनी स्थित ग्लोबल आइएमई बैँकमा समितिका संयोजक नन्दबहादुर खत्री र सदस्यद्धय कमल खत्री र हरि भण्डारीको नाममा रहेको संयुक्त खाता नम्बर ४८०७०१०००२६७४ मा सहयोग रकम जम्मा गर्न सक्ने व्यबस्था मिलाईएको जनाएको छ ।