नेपाली सेनाको जूनियर डिभिजन अन्र्तरगत राष्ट्रिय सेवा दलको सहयोगमा नवलपरासीको हात्तिखोरमा भएको विभिन्न प्रतियोगितात्मक खेलमा बेनी सामुदायिक माविका विद्यार्थी प्रथम भएका छन् । नेपाली सेनाको श्री बक्स गुल्मबाट म्याग्दी जिल्लामा सञ्चालन गरिएको विपद् ब्यवस्थापन सहित आत्मरक्षात्मक तालिम लिएर हात्तिखोर पुगेका विद्यार्थीले त्यहाँ आयोजित कार्यक्रममा विभिन्न १२ जिल्लाबाट सहभागि भएका विद्यार्थीलाई पछाडी पादैं उपाधी हात पारेका हुन ।
विद्यालयको कक्षा ८ र ९ मा अध्ययरत ३६ जनालाई विपत्त ब्यवस्थापन सहित स्थानीयस्तरमा स्वयंमसेवकको भूमिका निर्वाह गर्दा अपनाउनुपर्ने विधि प्रक्रिया, नेतृत्व, ब्यक्तित्व र विद्यार्थीको अनुशासन सम्बन्धित तालिम दिइएको थियो । २ सय जना विद्यार्थीलाई पछाडी पारेर भदौं महिना देखी सदरमुकाम बेनीस्थित बेनी सामुदायिक माविमा अभ्यास गरेका विद्यार्थी मंसिर २६ गते २१ दिनका लागि हात्तिखोरमा पुगेका थिए । नेपाली सेनाले जिल्लामै पहिलो पटक सदरमुकाम बेनीस्थित बेनी सामुदायिक विद्यालयका विद्यार्थीहरु मध्यबाट छनौट गरेको थियो ।बेनी सामुदायिकले
शैक्षिक सहित ब्यवहारिक ज्ञानलाई समेत प्राथमिकता दिइरहेको अवस्थामा नेपाली सेनाको सहयोगबाट सहज भएको विद्यालयका प्रअ दिपक श्रेष्ठले बताए। ‘तालिममा भएका सबैजसो विधामा विद्यार्थी प्रथम भएका छन् । यसबाट हामी उत्साहित छौं’ श्रेष्ठले बेनीअनलाइनलाई भने । उनले विद्यार्थीहरुले आफ्नो मेहनतलाई प्रस्तुत गदैं विद्यालयको नाम समेत राखेको बताउँदै आगामी दिनमा समेत यस्ता रचनात्मक कार्यमा सहभागिता हुने अवसरका लागि नेपाली सेनासंग अनुरोध समेत गरेका छन् ।
७९ दिनसम्म विद्यालयमा चल्ने तालिममा अनुशासन, नेतृत्व सीप, सैद्धान्तिक, एरोवीक्स, मास, पिटी, तेक्वान्दो, नक्सा अध्ययन, खुकुरी ड्रिल, भिडमा बोल्ने तरिका, लागुऔषध, चेलीवेटी बेचविखन विरुद्ध, खोज उद्धार सम्बन्धित ज्ञान सिकाइएपछि थप अभ्यास तथा विभिन्न जिल्लाबाट आएका विद्यार्थीहरुसंग अनु्भव आदानप्रदानको अवसर मिलाएको श्रीबक्स गुल्मले जनाएको छ । तालिममा भिडमा बोल्ने तरिका, नेतृत्व विकास, लागुऔषध, चेलीवेटी बेचविखन विरुद्ध, खोज उद्धारलाई समेत विषेश प्राथमिकता दिइएको छ ।