(निर्मल खत्री)
राजनीतिक आस्थाका हिसाबमा गैर पत्रकारलाई नयाँ सदस्यताको सिफारिश गरिएको भन्दै प्रेस युनियन म्याग्दीले सोमबार पत्रकार महासंघ म्याग्दी शाखामा अनिश्चितकालीन तालाबन्दी गरेको छ । शनिबार बसेको महासंघको वैठकले सरकारी कर्मचारी, शिक्षक र सक्रिय राजनीतिक कार्यकर्तालाई सिफारिश गरेको भन्दै युनियनले तालाबन्दी गरेको हो ।

व्यावसायिक हिसाबमा लागेका मात्र पत्रकारलाई सदस्यता दिईनुपर्ने माग सहित युनियनका अध्यक्ष गोपाल छन्त्यालको नेतृत्वमा गएको पत्रकारको टोलीले क्याम्पसचोकमा रहेको महासंघको कार्यालयमा तालाबन्दी गरेको छ । राज्यको चौथो अंगको रुपमा रहेको महासंघले निहित स्वार्थ पूर्तिका लागि पत्रकारिता क्षेत्रमै नभएको व्यक्तिलाई सिफारिश गरिएकोले महासंघको नैतिकहिन क्रियाकलाप विरुद्ध आन्दोलन सुरु गरेको सभापति छन्त्यालले जानकारी दिनुभयो । उहाँले महासंघको निर्णय विरुद्ध पत्रकार महासंघ केन्द्रीय कार्यालयमा समेत उजुरी दिईने बताउनुभयो ।

‘निर्णय सच्याउन महासंघ नेतृत्वलाई पटक–पटक आग्रह ग¥यौँ तर उहाँले सुन्नुभएन । त्यसैले तालाबन्दी ग¥यौँ’ युनियनका सभापति छन्त्यालले भने । युनियन प्रेस विज्ञप्ति जारी गर्दै महासंघको निर्णय विरुद्ध सशक्त आन्दोलन गर्ने जनाएको छ । ‘पत्रकारिता क्षेत्रमै क्रियाशिलहरुलाई प्रोत्साहन गर्नुपर्नेमा सरकारी कर्मचारीहरुको आधिकारिक संस्थामा नेतृत्व गरिरहेका व्यक्तिका साथै राजनीतिक दलका कार्यकर्ता लगायत गैर पत्रकारलाई सदस्यता प्रदानको सिफारिश गरिनु गलत हो’ विज्ञप्तिमा भनिएको छ ।