छन्त्याल संघको अध्यक्षमा थमबहादुर घरब्जाको दावेदारी

0

छन्त्याल समुदायको साझा संस्था नेपाल छन्त्याल संघको केन्द्रीय अध्यक्षलाई म्याग्दीका थमबहादुर घरब्जा छन्त्यालले आफ्नो दावी प्रस्तुत गरेका छन् । मल्कबाङ गाविसमा जन्मेका घरब्जा सफल रियलस्टेट व्यवसायी हुन् ।

काठमाडौँमा रहेको धौलागिरि हाउजिङ मार्फत उनले काठमाडौँ सहित पोखरा लगायतका शहरमा आफ्नो व्यवसायको सञ्जाल फैलाएका छन् । अवकाश प्राप्त व्रिटिश आर्मी समेत रहेका घरब्जाले जातीय उत्थान र संघमा देखा परेको पछिल्लो समस्यालाई समाधान गर्न आफुले नेतृत्वमा बसेर समन्वयकारी भूमिका खेल्नसक्ने बताएका छन् ।

‘दुर्गम क्षेत्रमा जन्मे, विश्वका थुप्रै देश घुमे । अहिलेसम्म हासिल गरेको अनुभवलाई जातीय विकासका लागि खर्चन सक्छु’, उनले भने, ‘त्यसमा सबैको सहयोग र समर्थन हुनेछ ।’ संघको छैठौ राष्ट्रिय महाधिवेशन पुस १५, १६ र १७ गते कास्कीको पोखरामा सम्पन्न हुदैछ । घरब्जा यसअघि नेपाल छन्त्याल युवा संघका केन्द्रीय अध्यक्ष र छन्त्याल संघको सल्लाहकार समेत हुन् ।

‘मैले मेरो व्यवसायिक चुनौतीलाई थाती राखेर समग्र जातीय उत्थान र संघलाई समृद्ध बनाउन लागिपर्नेछु’, उनले प्रतिबद्धता जनाएका छन् । अधिवेशन नजिकिदै जाँदा महाधिवेशन आयोजक समितिले तयारीलाई तीब्र पारेका छन् । त्यसका लागि म्याग्दी, बागलुङ, मुस्ताङ, रुपन्देही, काठमाडौँ, रोल्पा, कास्की लगायतका जिल्लामा प्रतिनिधी आउने आयोजक समितिले जनाएको छ । गोपाल छन्त्याल