(प्रताप बानियाँ)
सरकारले सञ्चालन गर्न लागेको स्वास्थ्य बिमा कार्यक्रम म्याग्दीमा बुधबारदेखि शुरु हुने भएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति म्याग्दीको आयोजनामा मङ्गलबार सदरमुकाम बेनीमा पत्रकार सम्मेलन गरी कार्यक्रम शुरु हुन लागेको जानकारी गराइएको हो ।

सम्मेलनमा समितिका प्रवन्धक श्रीकृष्ण प्रजापतिले म्याग्दीमा बुधबारदेखि सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बिमा) दर्ता औपचारिक रुपमा शुरु हुने बताए । उनले स्वास्थ्य बिमा दर्ताका लागि आवश्यक तयारी पुरा गरेको बताउँदै म्याग्दी जिल्लामा स्वास्थ्य बिमा गर्ने कार्यक्रम औपचारिक रुपमा शुरु गर्न लागिएको बताएका छन् ।

सरकारले चालु आर्थिक वर्षमा २२ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न लागेकोमा पहिलो चरणमा म्याग्दीलगायतका ५ जिल्लाबाट दर्ता शुरु हुने प्रवन्धक प्रजापतिले जानकारी दिए । म्याग्दीमा स्वास्थ्य बिमासम्बन्धी कार्यमा सघाउन ४३ जना दर्ता सहयोगी नियुक्त गरिसकिएको भन्दै उनले सहयोगीलाई तालिम समेत प्रदान गरिएको बताए ।

कार्यक्रममा सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डाक्टर गुणराज लोहनीले नेपाल सरकारबाट उपलब्ध स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन स्वास्थ्य बिमा कार्यक्रम ल्याइएको बताएका छन् । उनले स्वास्थ्य बिमा कार्यक्रममार्फत जनतालाई सर्वसुलभ सेवा प्रदान गर्ने कार्यमा सरोकारवाला सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

उक्त कार्यक्रममा सहभागी जिल्लामा क्रियाशिल पत्रकार एवं सञ्चारकर्मीहरुले भने सरकारले स्वास्थ्य संस्थामा निःशुल्क रुपमा विभिन्न ७० प्रकारका औषधीहरु उपलब्ध गराउने घोषणा गरे पनि अझै कार्यान्वयन नभएको भन्दै बिमा कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । प्रवन्धक प्रजापतिको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला अस्पतालका डाक्टर, कर्मचारी, पत्रकारलगायतको सहभागीता रहेको थियो ।