म्याग्दीको भगवती–३ निबासी बोनम्यारो र रक्तक्यान्सरबाट पिडित सिता ( कृष्णकुमारी) कटुवाल क्षेत्रीको उपचारको लागि पर्वत बेनीमा रहेको सफल महिला बचत तथा ऋण सहकारी संस्थाले रु ५० हजार बढी आर्थिक सहयोग गरेको छ । माझफाँट गाविस–३ पर्वतबेनीमा रहेको उक्त सहकारी संस्थाले विहिवार सहकारी, सहकारीका शेयर सदस्य, कर्मचारी तथा सुभचिन्तकहरुबाट रु ५० हजार ५ सय ५५ रुपैयाँ संकलन गरि पिडित क्षेत्रीको उपचारार्थ सहयोग गरेको हो ।

सहकारीमा आयोजित एक कार्यक्रमका बिच सहकारीका अध्यक्ष कल्पना सुवेदी र सहयोगदाता शसि खड्का लगायत सहकारीका सञ्चालक समितिका पदाधिकारीहरुले सिता बचाउ अभियानका सदस्य हरि भण्डारीलाई उक्त सहयोग हस्तान्तरण गर्नुभएको थियो । सहकारीले संकलन गरेको उक्त सहयोगमा शसी खड्काले रु २१ हजार १ सय २१, कल्पना सुवदीले रु ५ हजार १०५ सहयोग गर्नुभएको थियो ।

महिलाहरुको नेतृत्वमा संचालित सहकारीले गरेको अािर्थक सहयोगले पिडित क्षेत्रीको उपचारमा राहत मिलेको भन्दै सहयोग गर्ने दाताहरुलाई सदस्य भण्डारीले धन्यबाद ज्ञापन गर्नुभएको थियो । उपचारमा ठुलो धनराशि खर्च हुनेभएपछि क्षेत्रीको उपचारार्थ सहयोग संकलन अयिभान सञ्चालन गरेपछि आफुहरुले पनि सहयोग गरेको भन्दै सहकारीका अध्यक्ष कल्पना सुवेदीले अन्य महानुभावहरुलाई पनि सहयोग गर्न आह्वान गर्नुभएको छ ।

न्युनतम रु ७० लाख खर्च लाग्ने क्षेत्रीको उपचारमा सहयोग जुटाउन सञ्चालन गरिएको सिता बचाउ अभियान अन्र्तगत हालसम्म रु २० लाख संकलन भईसकेको समितिका संयोजक नन्द बहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार, स्वदेश तथा विदेशमा रहेका म्याग्देलि र राखुबासिहरुको पहलमा क्षेत्रीको उपचारमा सहयोग जुटाउन सक्रियता बढेको छ । काठमाण्डौ स्थित टिचिङ अस्पतालमा उपचाररत क्षेत्रीको सहयोगार्थ गठित सिता बचाउ अभियान समितिले क्षेत्रीको सहयोगार्थ बेनी स्थित ग्लोबल आइएमई बैँकमा समितिका संयोजक नन्दबहादुर खत्री र सदस्यद्धय कमल खत्री र हरि भण्डारीको नाममा रहेको संयुक्त खाता नम्बर ४८०७०१०००२६७४ मा सहयोग रकम जम्मा गर्न सक्ने व्यबस्था मिलाईएको जनाएको छ ।