‘टोड्के गाउँ, मुला पाइने ठाउँ’

0
523

(प्रताप बानियाँ)
म्याग्दीको उत्तरी क्षेत्रमा अवस्थित टोड्के गाउँमा उत्पादित मुला खरिद बिक्री हुन छाडेको छ । जिल्लाको पुलाचौर, कुहुँ र झिँ गाविसको सिमानामा पर्ने टोड्केमा परम्परागत रुपमा लगाइने स्थानीय जातको मुला पछिल्लो समय खरिद बिक्री हुन छाडेको हो ।
img_0047
गाउँको पहिचानका रुपमा स्थापित भएको मुला खेती बढ्दो आधुनिकतासँगै मानिसहरुले खरिद गर्न छाडेपछि त्यसको खेतीपाती समेत कम हुन थालेको छ । धौलागिरि अञ्चलमै मुला खेतीमा प्रख्यात टोड्केमा अहिले अन्न र नगद लिएर मुला किन्न जाने मानिसहरु भेटिदैनन् । पहिले मुला लिनका लागि म्याग्दीको अर्थुङ्गे, बेनी, बराङ्जा, अर्मन, रत्नेचौर, पर्वतको मल्लाज, धाईरिङ र बागलुङ जिल्लाबाट समेत मानिसहरु पुग्ने गरेपनि अहिले ती ठाउँबाट मानिसहरु जान छाडेको मुला खेती गर्नेहरु बताउँछन् ।
img_0045
करिब ५ घरधुरी बसोबास रहेको टोड्केमा स्थानीय रातो र सेतो जातको मुला उत्पादन हुँदै आएको छ भने उनीहरुको मुख्य पेशा मुला तथा आलुखेती रहेको छ । आफुहरुले बाजेको पालादेखि नै स्वर्गद्वारीबाट मुलाको बिउ लिएर लगाएको र अहिले पनि ३ रोपनीमा मुला खेती गरेको मुला व्यवसायी तिजमाया पाईजाले बताइन् । गतवर्ष भन्दा यसपाली मुला उत्पादन राम्रो रहेको र आफुहरुले विषादीरहित मुला लगाउँदै आएको उनले जानकारी दिएकी छिन् । उनका अनुसार मुला किन्न आउनेलाई बारीमै ठूलो मुलालाई ५० र सानालाई २५ रुपैयाँका दरले गोटाअनुसार बिक्री गर्ने गरिएको छ ।
img_00282
बजारमा विभिन्न ठाउँको मुला पाइने हुँदा विगत केही वर्षयता टोड्केमा मुला लिन मानिसहरु जान छाडेको अर्का मुला व्यवसायी मिनबहादुर थजालीले बताए । उत्पादन कम हुनु, खरिद बिक्री नहुँदा आफुले थोरै मात्रामा मुला खेती गर्ने गरेको उनको भनाई छ । ‘टोड्के गाउँ, मुला पाइने ठाउँ’ भनिए पनि प्रचारप्रसारको अभाव, उत्पादन लागत कम पर्नु, सदरमुकामको पहुँचदेखि टाढा हुनाले टोड्केको मुला खेती ओझेलमा परेको छ ।
img_00221
मुलाबाट चट्नी, धजरा, सिन्की (गुन्द्रुक), तरकारी, अचार, सलादलगायतका परिकारहरु बनाउने गरिएको छ । मुला र आलु उत्पादनमा प्रख्यात टोड्के क्षेत्रका बासिन्दाहरुले टोड्केको प्रचारप्रसारका लागि मेला महोत्सव पनि आयोजना गर्दै आएका छन् । त्यहाँ पुग्ने पाहुनालाई स्थानीयवासीले मुलाबाट बनाइएका विभिन्न परिकार जस्तै अचार, मुलाका चाना, धजरा, सिन्कीलगायतका सामग्री उपहार र मायाको चिनोका रुपमा प्रदान गर्ने गर्छन् । समुन्द्री सतहदेखि २ हजार ४ सय मिटरको उचाइमा अवस्थित टोड्केमा म्याग्दी सदरमुकाम बेनीदेखि करिब २० किलोमिटर कच्ची सडकबाट पुग्न सकिन्छ । टोड्के क्षेत्रबाट विभिन्न हिमश्रृङखलासँगै सुर्योदय, लालीगुराँससहित रमणीय दृश्यहरुको अवलोकन गर्न पाइन्छ ।
img_00192
img_00085