(प्रताप बानियाँ)
नेपालमै पहिलोपटक म्याग्दी जिल्लाको दुईवटा गाविस शनिबार सामुदायिक वन अतिक्रमणमुक्त गाविसका रुपमा घोषणा भएका छन् । बाबियाचौर इलाका वन कार्यालय र जिल्ला वन कार्यालयको समन्वय तथा सामुदायिक वन उपभोक्ता समूह बाबियाचौर र कुहुँ गाविसले विशेष कार्यक्रमको आयोजना गरी वन अतिक्रमणमुक्त गाविस घोषणा गरेका हुन् ।
img_7188
‘स्थानीय जनसहभागीतामा वन अतिक्रमण हटाऔं, स्थानीय वन क्षेत्रको हैसियत बढाऔं’ भन्ने नारासहित स्थानीय समुदायमा आधारित वन अतिक्रमण नियन्त्रण अभियान सञ्चालन गरी वन अतिक्रमणमुक्त गाविस घोषणा गरिएको बाबियाचौर इलाका वन कार्यालयले जनाएको छ । अभियानका क्रममा कुहुँ र बाबियाचौर क्षेत्रमा कुल ४ सय ८३ दशमलब ८९ हेक्टर क्षेत्रफल वनक्षेत्र अतिक्रमणमुक्त गराइएको छ ।
img_7288
घोषणा कार्यक्रमको अवसरमा दुवै गाविसका १९ ओटा सामुदायिक वनका उपभोक्ताहरुलाई पूर्वराज्यमन्त्री नरदेवी पुनले वन अतिक्रमणमुक्त गरिएको सार्वजनिक घोषणाको प्रतिबद्धता गराएकी थिइन् । कार्यक्रमको उद्घाटन गर्दै उनले समुदायको सहभागीतामा वन अतिक्रमणमुक्त अभियानलाई देशव्यापी बनाउनुपर्ने बताएकी छिन् । उनले वन क्षेत्रबाट जनताले अधिकतम सेवासुविधा उपभोग गर्नुपर्ने भन्दै अब नयाँ खालको कार्यक्रममार्फत सामुदायिक वनलाई व्यावसायिककरण गर्नुपर्नेमा जोड दिएकी थिइन् ।
img_7258
सोही कार्यक्रममा बोल्दै म्याग्दीका निमित्त प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले वन अतिक्रमण क्षेत्रलाई निरन्तरता दिई सामुदायिक वनको दीगो विकास गर्नुपर्ने बताए । जिल्ला वन अधिकृत सुखलालप्रसाद जयसवालले सामुदायिक वन क्षेत्रमा वनको अनुमति नलिइकनै गरिने जुनसुकै गतिविधि पनि वन अतिक्रमण हुने भएकाले वनको विधान र कार्ययोजनाअनुसार समुदायस्तरमा गतिविधिहरु सञ्चालन गर्नुपर्ने बताएका छन् । जिल्ला भू–संरक्षण अधिकृत दिवाकर पौडेलले समुदायको सहभागीतामा वन अतिक्रमणमुक्त घोषणा कार्यक्रम सराह्रनीय भएको हुँदा जिल्लाको अन्य गाविसमा पनि कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।img_7262

कार्यक्रममा सहायक जिल्ला वन अधिकृत चन्द्रमणि सापकोटाले समुदायको प्रत्यक्ष सहभागीतामा वन अतिक्रमणमुक्त घोषणा कार्यक्रम नेपालमै पहिलो भएको बताएका छन् । वन अतिक्रमणुक्त अभियानका अभियन्ता समेत रहेका सापकोटाले वन अतिक्रमणमुक्त अभियान नयाँ काम भएकाले डराउन नहुनेमा जोड दिँदै अभियान सञ्चालनका क्रममा आफुले भौतिक आक्रमणको धम्की सुन्नुपरेको बताएका थिए । कार्यक्रमको अवसरमा वन अतिक्रमणमुक्त अभियान सञ्चालनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै सामुदायिक वनका पदाधिकारी, जिल्ला वन कार्यालयका कर्मचारी र पत्रकार हरिकृष्ण गौतमलाई प्रशंसापत्रले सम्मान गरिएको थियो ।
img_7223
कार्यक्रममा नेकपा एमाले म्याग्दीका उपसचिव देवबहादुर घले, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला सदस्य तोपबहादुर केसी, नयाँ शक्ति पार्टी नेपालका प्रेम गिरी, नेपाली काँग्रेस कुहुँ गाविसका प्रतिनिधि बेगबहादुर पुन, नेकपा माओवादी केन्द्रका डिलबहादुर किसान, सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफोन) म्याग्दीका अध्यक्ष सीता गुरुङ, वडा नागरिक मञ्चका संयोजक रुकबहादुर रोका र तुसारेपानी सामुदायिक वन उपभोक्ता समूहका सचिव बमबहादुर रोकाले मन्तव्य राखेका थिए ।
img_7160
कार्यक्रममा स्थानीयवासीले वन अतिक्रमणमुक्त अभियानका अभियन्ता चन्द्रमणि सापकोटालाई फुलमाला र अबिर लगाएर सम्मान गरेका थिए । कार्यक्रम रानीवन सामुदायिक वनका अध्यक्ष जीवन कार्कीको अध्यक्षता, चिसापानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जीतमान गौचनको स्वागत, पत्रकार हरिकृष्ण गौतम र जिल्ला वन कार्यालयका कर्मचारी भविराम किसानको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रमको अवसरमा गीतसङ्गीत, नृत्य, प्लेकार्ड र बाजागाजा प्रस्तुत गरिएको थियो ।
img_7286
देशका कतिपय जिल्लामा वन अतिक्रमण हटाउँदा स्थानीय प्रशासन र जिल्ला वन कार्यालयले बल प्रयोग गर्नुपर्ने अवस्था रहेकोमा म्याग्दीमा भने स्थानीयकै सहभागीतामा फरक तरिकाले कार्यक्रम सञ्चालन गरी वन क्षेत्रलाई अतिक्रमणमुक्त गराइएको छ । यस्तै जिल्लाको बराङ्जा र अर्मन गाविसलाई पनि वन अतिक्रमणमुक्त गाविस घोषणा गर्ने तयारी गरिएको जनाइएको छ ।
img_7204

img_7171