रातो नम्बरको आतंक गाउँगाउँसम्म

0

केहीदिन यता रातो नम्बरबाट आएको फोनले ज्यान जान सक्ने हल्लाले मोवाईल प्रयोगकर्तामा त्रास फैलिएको छ । सामाजिक सञ्जालमा फैलिएको हल्लाका कारण म्याग्दीको सदरमुकाम बेनी देखी ग्रामिण क्षेत्रमा निजी दुरसञ्चार प्रदायक संस्था एनसेलको सिमकार्ड प्रयोगकर्ता त्रसित भएका छन् ।देशभर रातो नम्बरबाट आएको फोनका कारण कानबाट रगत आएको, फोनमा बोल्ने क्रममा पड्किए लगाएतका हल्ला फैलिएपछि आफ्ना छोराछोरीले समेत अभिभावकलाई मोवाईल प्रयोग नगर्न अनुरोध गरेका छन् ।

नेपालमा रहेका दुरसञ्चार प्रदायक संस्थाले रातो नम्बरको फोन नम्बर प्रयोगमा नरहेको अवस्थामा धमाधम रातो नम्बरबाट फोन आउन थालेपछि देशभर त्रास फैलिएको हो । सामाजिक सञ्जालमा धेरै जिल्लामा फैलिएको हल्ला मात्रै भएको बताउँदै रातो नम्बरको भ्रममा नपर्न एनसेलले अपिल गरेपनि पुष्टी गर्ने आधारहरु नहुदाँ दुर्गम क्षेत्रमा प्रयोगकर्तालाई समेत समस्यामा पारेको छ । ‘यूवाहरूले समेत एनसेलको सिम प्रयोग गर्न छोडेका छन् । बाहिरी जिल्लाबाट त्रास फैलाउने काम भइरहेको छ’मंगलाघाटका अनुप बानियाँले बेनीअनलाइनलाई भने ।

उनका अनुसार जिसी क्रसर उद्योगमा कार्यरत धादिङ जिल्लाका एक यूवाका अनुसार गाउँमा रातो नम्बरबाट फोन आउन थालेपछि सिम कार्ड परिवर्तन गरेको बताएपछि सिम फेरेको बताए ।लगातार रातो नम्बरको आतंक फैलिरहेको अवस्थामा दुरसञ्चारको क्षेत्रमा कार्यरत इन्जिनियरहरुले समेत यसलाई पु्ष्टी गर्न सकेका छैनन् । एनसेल र टेलिकमले धेरै प्याकेजहरु सार्वजनिक गरेको अवस्थामा यस्तो समस्या आएको हुनसक्ने तर्क गरिएपनि प्राविधिक रुपमा पुष्टी नगरिएकाले समस्या जटिल बनेको छ ।

यता प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले जिल्लाभर रातो नम्बरको भ्रम फैलिएकाले सचेत रहन अनुरोध गरिएपनि यसको प्राविधिक पक्षका बारेमा जानकारी नभएको बताए । ‘यस विषयमा दुरसञ्चारमा बुझ्नुपर्छ । देशभरको समस्या हो’ उनले भने । केहीबर्ष अगाडी समेत यस्तै हल्ला भारतमा फैलिएको थियो । भारतका विभिन्न राज्यमा फैलिएको हल्लाका कारण त्यहाँको दुरसञ्चार सेवा प्रदायक सस्थाले ठुलो नोक्सानी ब्यर्होनुपरेको थियो ।

रातो नम्बरको हल्लाका कारण निरक्षर तथा फोन मात्रै उठाउनेलाई समस्या भएको छ । बेलुकी ७ बजेदेखी विहान ७ बजेसम्म रातो नम्बरबाट फोन आउने भन्दै आफ्नै छोराछोरीले समेत अभिभावकलाई फोन बन्द गर्न अनुरोध गर्ने गरेका छन् । सातादिनसम्म हल्लाका बारेमा एनसेलले सामान्य प्रतिक्रिया दिएपनि प्राविधिक प्रमाण सहितको जानकारी दिन नसकेको छैन भने केही सुनियोजित योजना अनुसार एनसेललाई तहसनहस बनाउने गम्भीर प्रयास भएको आरोप लगाएको छ ।