नेपाली सेनाको जूनियर डिभिजन अन्र्तरगत राष्ट्रिय सेवा दलको छनौटमा सहभागि भएका बेनी सामुदायिक माविका विद्यार्थीलाई आइतबार एक कार्यक्रमका विच सम्मान गरिएको छ । नवलपरासीको हात्तिखोरमा आयोजित राष्ट्रियस्तरको २१ दिने तालिममा उत्साहजनक सहभागिता संगै सहभागि जिल्ला मध्ये उत्कृष्ट भएका विद्यार्थीलाई विद्यालयले गरेको सम्मान तथा प्रशिक्षक विदाई कार्यक्रममा अभिभावकको समेत सहभागिता रहेको थियो ।
सम्मान कार्यक्रममा निमित्त जिल्ला शिक्षा अधिकारी विश्वप्रकाश रेग्मीले फरक शैलीको तालिममा सिकेका सीपलाई समुदायको हितमा प्रयोग गर्नुपर्नेमा जोड दिए । उनले विद्यालयले पढाई संगै अतिरिक्त क्रियाकलापलाई समेत प्राथमिकतामा राख्नुपर्नेमा जोड समेत दिए । सोही अवसरमा श्री बक्स गुल्मका गुल्मपती रमेश गुरूङले म्याग्दीमा पहिलो पटक सञ्चालन गरिएको सेवा दलको तालिममा सहभागि विद्यार्थीको सक्रियताले उत्साहित भएको बताए ।
उनले नवरपरासीमा आयोजित १२ जिल्लाका १३ वटा विद्यालयका विद्यार्थी विचको प्रतिस्पर्धामा म्याग्दीबाट सहभागि भएका विद्यार्थीले हरेक गतिविधिमा उत्कृष्ट खेल प्रर्दशन गरेको बताए । सम्मान कार्यक्रममा स्रोतब्यक्ति मोहन बानियाँ, शिक्षक अभिभावक संघका अध्यक्ष कृष्ण बहादुर बानियाँ, तालिममा सहभागि उत्कृष्ट क्यारेट सुस्मिता किसान, प्रशिक्षक विजय भण्डारी लगाएतले मन्तब्य राखेका थिए ।
विद्यालयका प्रधानध्यापक दिपक श्रेष्ठले स्वागत मन्तब्य राख्दै विद्यालयका खेलाडीले आफ्नो क्षमतासंगै ६ वटा मेडल र ट्रफि समेत विद्यालयमा ल्याउन सफल भएको बताए । तालिममा छनौट भएका विद्यार्थीको अल्छीपन हटाउनुका साथै प्राकृतिक विपत्तीमा परेका नेपालीलाई उद्धारमा सक्रिय हुने आत्मविश्वास बढेको विद्यार्थीको भनाई थियो ।
विद्यालयमा गरेको छनौटमा २ सय विद्यार्थीबाट ३६ जना छनौट भएका विद्यार्थीले दैनिक दुई घण्टा विभिन्न किसिमका अभ्यास गर्ने गरेका थिए ।७९ दिनसम्म विद्यालयमा गरिएको तालिममा अनुशासन, नेतृत्व सीप, सैद्धान्तिक, एरोवीक्स, मास, पिटी, तेक्वान्दो, नक्सा अध्ययन, खुकुरी ड्रिल, भिडमा बोल्ने तरिका, लागुऔषध, चेलीवेटी बेचविखन विरुद्ध, खोज उद्धार सम्बन्धित ज्ञान सिकाइएको थियो । सम्मान तथा विदाई कार्यक्रमको सञ्चालन विद्यालयका अध्यक्ष पदम किसान र सञ्चालन शिक्षक सन्दिप निउरेले गरेका थिए ।