निस्कोटका यूवा पोखराबाट बेपत्ता

0

निस्कोट गाविसका एक यूवा पोखराबाट बेपत्ता भएका छन् । उपचारको क्रममा पोखरास्थित जिएम अस्पतालमा उपचार गरेपछि घर फर्कने क्रममा निस्कोट–६ का २८ बर्षिय पितम पुर्जा सम्पर्क विहिन भएको उनका बुबा द बहादुर पुर्जाले बेनीअनलाइनलाई बताए । ‘उपचारपछि अस्पताल बाहिर आएका थियौं, केहीबेरमै सम्पर्कविहिन भए’ उनले भने । मानसिक समस्याका कारण अस्पतालमा लगिएको थियो । अस्पतालको उपचार पछि धामीझाक्रीकोमा जाने क्रममा सम्पर्कविहिन भएको परिवारको भनाई छ ।

‘पोखरा आसपासका क्षेत्रमा खोजीकार्य भइरहेको छ । उसको साथमा एक पैसा छैन’ पितमका बुबाले भने ।बेपत्ता यूवाको खोजीमा परिवारले पोखरा, पर्वत, म्याग्दीका साथै प्रहरीमार्फत पोखरा आसपासका जिल्लाहरुमा समेत हुलियो पठाइएको उनका आफन्त धन बहादुर पुनले बताए । ‘पोखरा र बेनीमा खोजीकार्य केन्द्रित गरेका छौं। नियमित उपचारको सुझाव चिकित्सकले दिएको अवस्थामा बेपत्ता भएपछि परिवार चिन्तित छन्’ उनले भने । अस्पतालको गेट बाहिरबाट पाँच मिनेटको अवधीमा सम्पर्क विहिन भएको बताउँदै खोजीकार्यमा सहयोग गर्न समेत परिवारले अपिल गरेको छ ।