विविध कार्यक्रमसहित म्याग्दीमा माघी मेला लगाइने

0

(प्रताप बानियाँ)
यही पौषको २९ र माघ १ गते म्याग्दीको सदरमुकाम बेनीमा विविध कार्यक्रमसहित माघी मेला लगाइने भएको छ । म्याग्दी उद्योग वाणिज्य संघअन्तर्गत रहेको महिला उद्यम विकास समितिद्वारा माघेसङ्क्रान्ति पर्वको अवसरमा मेला आयोजना गरिएको हो ।

म्याग्दी उद्योग वाणिज्य संघको सहयोगमा आयोजना गर्न लागिएको माघी मेलाको सोमबार बेनीमा पत्रकार भेटघाट कार्यक्रम गरी सार्वजनिक गरिएको छ । मेलाको अवसरमा खुल्ला एकल नृत्यु, लठो तान्ने, छेलो फ्याँक्ने, अन्धनिशानलगायतका कार्यक्रमहरु गरिने महिला उद्यम विकास समिति म्याग्दीले जनाएको छ ।

एकल नृत्य प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः २० हजार, १० हजार, ५ हजार र १ हजार रुपैयाँले पुरस्कृत गरिने भएको छ । यसैगरी लठो तान्ने खेलमा प्रथमलाई ६ हजार तथा अन्धनिशान र छेलो प्रतियोगतामा उत्कृष्ट हुनेलाई नगद एकएक हजार पुरस्कारको व्यवस्था गरिएको महिला उद्यम विकास समितिका महासचिव लक्ष्मी भण्डारी कार्कीले बताइन् ।

कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जीवनबहादुर विश्वकर्माले कला संस्कृतिको संरक्षणसहित उद्योग, व्यापार र उद्यमशिलताको विकास गर्न मेलाले सहयोग पु¥याउने बताए । परम्परागत रुपमा मनाइने माघी पर्वलाई निरन्तरता दिन आयोजित मेलालाई सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरी सफल बनाउनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रमबारे प्रकाश पार्दै महिला उद्यम विकास समितिका सभापति अमृता भण्डारीले सडक खाना महोत्सवको अतिरिक्त माघी मेला आयोजना गरिएको बताइन् । उनले पूर्वराज्यमन्त्री नरदेवी पुनले उद्घाटन गर्ने मेलामा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुती समेत रहने जानकारी दिएकी छिन् ।

म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तमकुमार कर्माचार्यले माघी मेलाले आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने बताए । मेला सम्पन्न गर्नका लागि अमृता भण्डारीको मूल संयोजकत्वमा विभिन्न उपसमितिहरु गठन गरी तयारी शुरु गरिएको संघले जानकारी दिएको छ । कार्यक्रम महिला उद्यम विकास समितिका सभापति भण्डारीको अध्यक्षता, महासचिव लक्ष्मी कार्कीको सञ्चालन र उपसभापति सुनिता केसीको समापनमा सम्पन्न भएको थियो ।