म्याग्दीको बेनी नगरपालिका–५ डम्बराका दानबहादुर खत्रीको परिवारलाई मङ्गलबार जिन्सी सामान सहयोग भएको छ । पश्चिम म्याग्दीको अर्मन–४ छिस्बाङका ताराबहादुर क्षत्रीले खत्रीको परिवारलाई सिरक २ थान, बालबच्चाका लागि ३ सेट ज्याकेट पाइन्ट र १ थान लेडिज स्वीटर सहयोग गरेको बताए।

सुकुम्बासी क्षेत्रमा बसेर ज्याला मजदुरी गरी आफ्नो परिवार पाल्दै आएका खत्रीको घरमै पुगेर पारिवारीक अवस्था बुझेपछि आफुले सहयोग गरेको क्षत्रीको भनाई छ । खत्रीको परिवारमा अहिले ७० वर्षीय वृद्ध बाबु र ३ छोरासहित ६ जनाको परिवार रहेको छ । सहयोग हस्तान्तरण गर्दै क्षत्रीले दिनदुखी, गरिब तथा विपन्न परिवारलाई सहयोग गर्न पाउँदा आफुलाई खुशीको अनुभूति भएको बताएका छन् । ७ हजार ४ सय रुपैयाँ बराबरको सामानहरु उपलब्ध गराएका हुन् ।

विदेशको विभिन्न देशमा गरी करिब २० वर्ष बिताएका क्षत्री हाल मोना कतारको खेलकुद उपसमिति उपाध्यक्ष समेत रहेका छन् । प्रवासमा रहेर उनले विभिन्न समयमा जिल्लाको सामाजिक क्षेत्र तथा समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्दै आइरहेका छन् । सहयोग हस्तान्तरण कार्यक्रम विश्वामित्र बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर बानियाँ र युवा संघ नेपाल बेनी नगर कमिटीका अध्यक्ष लक्ष्मण कटुवालले संयोजन गरेका थिए ।प्रताप बानियाँ