(हरिकृष्ण गौतम)
म्याग्दीक भकिम्ली–२ मरेकबाट यसबर्ष करिव १३ लाख मुल्य बराबरको सुन्तला उत्पादन भएको छ । सुन्तलाको पकेट क्षेत्र मानिने मरेकका कृषकले ४० हजार देखी ३ लाख बराबरको सुन्तला उत्पादन गरेको कृषक प्रेम बहादुर थापाले बेनीअनलाइनलाई बताए । ‘उत्पादन पनि राम्रो छ ।गतबर्ष रोगका कारण कृषकले राम्रो मुल्य पाएनन्’ थापाले भने ।उनका अनुसार सुन्तला खरिद गर्न पोखराबाट ब्यापारीले सवारीसाधन सहित गाउँमै आएपछि कृषक उत्साहित भएका छन् ।

गाउँबाट पदम बहादुर केसी, बीर बहादुर थापा, इन्द्र बहादुर थापा, पदम बहादुर थापा, जमुना थापा, धना थापा, कर्ण कुमारी पुर्जा, धन बहादुर पुन कर्ण बहादुर खत्री र बल बहादुर पु्नले ब्यवसायीक सुन्तला खेती गरिरहेका छन् ।

कुनैसमय घरायसी प्रयोजन र खेतबारीमा लगाएका सुन्तलाले अपेक्षा गरेभन्दा राम्रो फल दिएपछि सुरु भएको सुन्तला खेती गाउँको प्रमुख आम्दानीको स्रोत बनेको छ । सडकको अभाव तथा फुल फुल्ने समयसम्म ग्राहकको पर्खाईमा रहने गरेका कृषकहरूले तीनबर्ष यता बोटबाटै काँचो सुन्तला विक्री गरेर नगद बुझ्ने गरेका छन् । एकसाता भित्र सुन्तलाबारीबाट करिव ९० प्रतिशत सुन्तला निर्यात हुने छ ।

बोटमै सुन्तलाको उचित मुल्य र जिल्लाबाहिर समेत बजार पाउन थालेपछि सुन्तलाखेती विस्तार गरिरहेको कृषक विरबहादुर थापाले बताए । ‘मेहनत अनुसारको मुल्य पाएपछि उत्साहित छौ ।अहिले सिंगो गाउँ नै सुन्तला खेतीमा आर्कषित भएको छ’ थापाले भने । ‘ए’ र ‘बी’ ग्रेडको सुन्तला ४५ रुपैयाँ र ‘सी’ २५ रुपैयाँ ब्यापारीले गाउँमै मुल्य दिएर ढुवानी गरेका छन् ।

२१ घरधुरी रहेको मरेकमा ६ सय विरूवाले पहिलो पटक फल दिने भएकाले पनि तीनबर्ष पछि उत्पादन दोब्वर हुने कृषकको भनाई छ ।बेनी नगरपाालिकाको बास्कुना हुदै सडक सञ्जालले गाउँमा सडक विस्तार भएपछि ब्यापारीसंग बारीमा मुल्यको बार्गेनिङ गर्ने गरेका छन्। गतबर्ष मरेकको सुन्तला म्याग्दी, धादिङ, काठमाण्डौ लगाएतका क्षेत्रमा पुगेको थियो ।