(हरिकृष्ण गौतम)
म्याग्दीको रिखार क्षेत्र प्राकृतिबाट बरदान पाएको सुन्दर गन्तब्य भन्दा फरक पदैन् । जिल्लाको विकट कुईनेमंगले गाविस–४ पात्लेखर्कमा धौलागिरि हिमालको फेदैमा अवस्थित रिखार क्षेत्रको सयौंबर्ष देखी चर्चा हुने गरेको छ ।
‘हिमालका देवता’ को वासस्थान मानिने मन्दिरको धार्मिक ग्रन्थका ब्याख्या गर्ने गरेपनि धेरैलाई रिखार क्षेत्रका बारेमा जानकारी छैन् । कुईनेमंगले तथा आसपासका क्षेत्रका बासिन्दाहरूको सक्रियतामा स्थानीयस्तरबाटै पूर्वाधार विस्तार गरिएपनि राज्यका निकायको नजरमा समेत नपरेको रिखार म्याग्दीको उत्कृष्ट पर्यटकीय तथा धार्मिक गन्तब्य भित्र पर्ने प्रसस्तै सम्भावनाहरू रहेका छन् ।
डाँडापाखा,घनाजंगल, साहसिक यात्राबाट थकित भएकालाई हिउँको बख्खु ओढेर सदाबार मुस्कुराइरहेका धौलागिरि लगाएतका हिमाल, सप्तऋषिको तपोभूमि रिखारमा पुग्ने धेरैले कल्पना गरेभन्दा फरक अनुभुती गर्ने गरेका छन् । तस्विरमै जीवनमा एकपटक पुग्नै पर्ने ठाउँका रुपमा देखिएको रिखारमा पुगेर फर्किएका योगगुरू नविन जुग्जालीका अनुसार निन्द्रा, भोक र थकाईलाई समेत रिखाको सुन्दरताले चोर्ने गरेको बताउँछन् ।
पिप्ले गाविसबाट सुरू हुने यात्राको क्रममा देखिने बस्ती, बनपाखा, पशुचौपाया, स्थानीयको साक्षत्कारबाट उत्साहित हुने पदयात्रीलाई रिखारमा पुगेपछि सत्ययुगमा सप्तऋषिसंग भेटेको कल्पना समेत गर्ने गर्दछन् । सहरबजार केन्द्रित हुने सरकारको विकासे योजनाको सिकार भएको रिखार क्षेत्रको तस्वीर समेत नजिकबाट नहेरेकाले रिखारलाई समान्य रुपमा ब्याख्या गर्ने गरेका छन् । हिन्दु् धर्मका बारेमा प्रकाशित धेरै पुस्तकमा उल्लेख गरिएको रिखार नेपालभित्र पर्छ भन्ने धेरैलाई थाहा समेत छैन् ।
मत्स्य पुराणका अनुसार संसार प्रलय भई जलमय हुँदा महाराज सत्यव्रत र अरुन्धतीसहित सप्तऋषि डुङ्गामा चढी सुरक्षित स्थलको खोजीमा समुद्रमा घुम्दै गर्दा लगातार उत्तरतर्फ डुङ्गा खियाउँदै जाँदा उनीहरूले उत्तापन्थमा धौलागिरि पर्वतलाई समुद्रको बीचमा माथि उठेको देखे र आफ्नो डुङ्गालाई त्यतैतिर अघि बढाई त्यहाँ आएर तपस्या गरेको उल्लेख छ ।
पुलाहाश्रमअन्तर्गतका चार धाममध्ये एक धाम मानिने ऋषिराश्रम धामको पूर्वमा गलेश्वरधाम, पश्चिममा, दक्षिणमा जगन्नाथ धामर उत्तरमा मुक्तिनाथ धाम रहेका छन् ।वाल्मिकी गुफा,अरुन्धती गुफा, सप्तऋषि गुफा, नामका गुफा रहेका रहेका छन् । डुङ्गा आकारको ढुङ्गा र गुफाले मत्स्य पुराण र श्रीमद्भागवत महापुराणका दृष्टान्तलाई सत्य प्रमाणित गरिदिएको छ । म्याग्दीको सदरमुकाम बेनीबाट गलेश्वर, मौवाफाँट, दग्नाम, दर्मिजा, चिमखोला, मङ्गले, घाँसीखर्क, चौरखानी द्धारी, पात्लेर्खक, बयलीखर्क हुँदै हिमालको फेदमा अवस्थित रिखार क्षेत्रमा पुगिन्छ ।
सप्तऋषिको तपभूमि समेत रहेको रिखार क्षेत्र हिन्दूधर्मावलम्बीको आस्थाको धरोहर समेत मानिन्छ । जनैपुर्णिमामा पुग्ने भक्तजनले एकपटक पुग्नै पर्ने म्याग्दीको पर्यटकीय तथा धार्मिकस्थलका रुपमा प्रचारप्रसार गरेकै आधारमा पछिल्लो समय जिल्लाका साथै देशभरबाट धार्मिक पर्यटकहरु आफ्नो मनोकामना पुरा हुने जनविश्वासका साथ रिखार क्षेत्रमा पुग्ने गरेका छन् । रिखार क्षेत्र सदरमुकाम बेनीदेखि ५० किमीको दूरीमा समुद्री सतहदेखि चार हजार ६०० मिटर उचाइमा रहेको छ ।