म्याग्दीको सदरमुकाम तथा आसपासका क्षेत्रमा संकलन भएको फोहोर ब्यवस्थापनका लागि बजेटको विनियोजन भएपनि डम्पिङ साइटको खोजी गरिएपनि फेला परेको छैन् । बढ्दो बजारीकरणसंगै एकदशक यता फोहोर ब्यवस्थापन गर्न डम्पिङ साइडका लागि उचित ठाउँ नपाउँदा बजार क्षेत्रमा संकलित फोहोर बेनी–गलेश्वर सडकखण्डमा पर्ने रातोपहिरोबाट कालिगण्डकी नदीमा फाल्ने गरिएको छ ।

हिन्दु धर्मालम्बीहरूले स्नान गर्ने कालिगण्डकीमा फाल्ने गरिएको फोहोरलाई डम्पिङ साईड बनाएर ब्यवस्थित गर्न बेनी नगरपालिकामा ५८ लाख बजेट प्राप्त भएपनि खोजी गरिएका विभिन्न विकल्पमा स्थानीयले विरोध गरेपछि समस्या भएको कार्यकारी अधिकृत छविलाल सुबेदीले बताए । ‘तीनवटा विकल्प प्रस्तुत गरेपनि तीनवटैको विरोध भइरहेको छ। कर्मचारीको तहबाट मात्रै यो सम्भव देखिदैन्’ सुबेदीले भने । उनले नगर क्षेत्रमा संकलिन फोहोर ब्यवस्थापन प्रमुख चुनौती भएको बताउँदै राजनीतिक दलको सक्रियता ठाउँको खोजी गर्ने प्रयास भइरहेको बताए ।

कालिगण्डकी नदीमा फालिएको फोहोरले आसपासका क्षेत्र दुर्गन्धित बन्दै गएको गुनासोलाई सम्बोधन गर्न नगरक्षेत्रकै खवराको सामुदायिक बन, पिप्ले गाविसको तल्लो क्षेत्र तथा हाल फोहोर ब्यवस्थापन भइरहेको तीनवटा मध्ये एक रोज्ने प्रयास गरिएपनि सहमति जुट्न नसकेको नगरपालिका स्रोतले जनाएको छ । सामुदायिक बनमा ब्यवस्थित पुर्वाधार बनाएर आसपासका क्षेत्रका बस्तीलाई समेत असर नहुने गरी बनाउने प्रयासमा समेत स्थानीयलाई अनावश्यक भ्रममा पार्ने तत्वका कारण समस्या भइरहेको कर्मचारीको गुनासो छ । ‘दुईतीन जनाले विरोध गरेका छन् ।

स्थानीयको आवश्यकतालाई समेत सहयोग गर्ने प्रतिबद्धता समेत जनाएपनि प्रतिक्रिया आएको छैन’ अधिकृत सुबेदीले भने। नगरक्षेत्र सफा र सुन्दर बनाउने अभियान अन्र्तरगत नदी आसपासका क्षेत्रमा फोहोर फाल्नेलाई ५ हजारसम्म जरिमानको ब्यवस्था गरेपछि फोहोर बढ्न थालेको अवस्थामा तत्कालै उचित ठाउँको पहिचान गर्न आवश्यक रहेकाले सरकारी जग्गामा समेत फोहोर ब्यवस्थापन गर्न नदिने प्रयास भइरहेकाले सहमतिको प्रयास भइरहेको छ ।

फोहोर ब्यवस्थापनका लागि ब्यक्तिको जग्गा समेत खरिद गर्न सकिने प्रावधान रहेकाले उचित मुल्यमा जग्गा खरिद गर्न प्रयास भइरहेको छ । सडक तथा बस्ती आसपासमा ब्यवस्थापन गरिएको फोहोरबाट मानव स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले ब्यवस्थापन आवश्यक रहेको जिल्ला अस्पताल म्याग्दीका डा.धिरेन मल्लले बताए । ‘अस्थायी रुपमा ब्यवस्थापन गरिएको फोहोर पानीमा मिसिदा प्रदुषित हुन्छ । बजार क्षेत्रमा प्रदुषित पानी चुनौती बन्न सक्छ’ डा. मल्ले भने । बेनीबजारमा दैनिक ४ देखि ६ ट्रयाक्टर सम्म फोहोर संकलन हुने गरेको छ ।

विज्ञापन