फरक क्षमताका बालबालिका

0
419

(घनश्याम खड्का)
ज्ञानोदय माविको मौवाफाँमा रहेको दृष्टिविहीन स्रोत कक्षामा लुलाङ्ग ८ का भासवीर विक, निस्कोट, ६ की रेविका पटेलसमेत १८ जना अध्ययनरत छन् । यहाँ १८ मध्ये १४ बालबालिकाको कैलो कपाल, नीलो आँखा र शारीरिक रूपरंग हेर्दा पर्यटकजस्ता देखिन्छन् । उनीहरू दृष्टिविहीन/न्यून दृष्टि भएकाले मसीको अक्षर देख्दैनन् त्यसैले ब्रेललिपिमा हातले छामेरै अन्य विद्यार्थीसरह लेखपढ गर्छन् । यहाँको विद्यालयमा ब्रेललिपि अध्यापन गराउने शिक्षक पनि दृष्टिविहीन नै छन् ।

‘केही साथी पुरै दृष्टिविहीन हुनुहुन्छ । म न्यून दृष्टि भए पनि मसीको अक्षर देख्न सक्दिनँ त्यसैले अन्य साथीहरूसँगै ब्रेलमा पढ्छु,’ कक्षा ९ मा अध्ययनरत भासवीर विकले भने, ‘मसीले लेख्नेहरू बराबर ब्रेलमा लेख्न सक्छु । कक्षाका सबै साथीहरू पनि सहयोगी छन्, सरले पढाउँदा नबुझेको सोध्छु ।’

घार गाविस ६ की सुनीता बरुवालसमेत १५ जना कान नसुन्ने (नबोल्ने) बालबालिका धौलागिरि माविको बहिरा स्रोत कक्षामा अध्ययनरत छन् । उनीहरूलाई आधारभूत तहसम्म सांकेतिक भाषामा अध्ययन/अध्यापन गराइन्छ । मावि तहको अध्ययन गर्न भने जिल्ला छोडेर बागलुङ वा अन्य ठाउँका सांकेतिक भाषा शिक्षण हुने विद्यालय पुग्नुपर्छ । सदरमुकाम बेनीदेखि ५ किमि पश्चिम बालजागृति आधारभूत विद्यालयमा रहेको बौद्धिक अपांगता स्रोत कक्षामा ६ वर्षदेखि १४ वर्षसम्मका सुस्तमनस्थिति (बौद्धिक अपांगता) भएका १८ बालबालिका अध्ययन गर्छन् ।

शिक्षा कार्यालयले जिल्लाका फरक–फरक विशेष स्रोत कक्षामा अध्ययनरत दृष्टिविहीन/न्यून दृष्टि भएका, नबोल्ने/कान नसुन्ने र सुस्तमनस्थिति भएका (बौद्धिक) जस्ता फरक क्षमताका बालबालिकाहरूलाई नि:शुल्क आवासीय सुविधा उपलब्ध छ । प्लान नेपाल र अपांग संघले दृष्टिविहीन, बहिरा र बौद्धिक अपांगता स्रोत कक्षामा अध्ययनरत विद्यार्थीका लागि छुट्टै २ लाख मूल्यबराबरको न्यानो विद्यालय पोसाक, व्यक्तिगत सरसफाइका सामग्री, शैक्षिक सामग्री, फर्निचर तथा खेलकुद र मनोरञ्जनका सामग्री सहयोग गरेका छन् ।

‘विशेष हेरचाह आवश्यक पर्ने फरक क्षमताका विद्यार्थीको मानसिक तथा बौद्धिक विकासका लागि मनोरञ्जनात्मक तथा शैक्षिक सामग्री अभाव हुन नदिन उनीहरूको आवश्यकता पहिचान गरी विद्यार्थीको मागअनुसारै उपयोगी सामग्री उपलब्ध गराएका हौं,’ नेपाल बहिरा संघका महासचिव केपी अधिकारीले भने, ‘समग्रबाहेक सुस्तमनस्थिति भएका बालबालिकालाई खेल सामग्री, न्यून दृष्टि भएका बालबालिकालाई विशेष प्रकारको लेन्स र बहिराका लागि कम्प्युटर उपलब्ध गराएका छौं ।’

फरक क्षमताका बालबालिकाहरूलाई शिक्षाको पहुँचमा ल्याई समान शिक्षाको अधिकार प्रत्याभूत गर्न स्रोत कक्षा सञ्चालन गर्न कार्यालयले दुई–दुईजना स्रोत शिक्षक, प्रतिविद्यार्थी मासिक ४ हजार छात्रवृत्ति, भौतिक पूर्वाधारका लागि भवन र अन्य प्रशासनिक खर्चसमेत व्यवस्था गरेको छ । बहिरा तथा बौद्धिक अपांगता स्रोत कक्षा सञ्चालन भएका विद्यालयमा दाताहरूले गरेको सहयोग लक्षित क्षेत्रमा खर्च नभएको स्रोत शिक्षक र विद्यार्थीले गुनासो गरे ।

‘फरक क्षमताका विद्यार्थीका लागि उपलब्ध छात्रवृत्ति र प्रशासनिक अनुदान रकम केही स्रोत कक्षामा पुरै उपयोग भएको देखिएन । जाडो ओढ्ने–ओछयाउने कपडासमेत पर्याप्त भेटिएन,’ विद्यालय निरीक्षक विश्वराज रेग्मीले भने, ‘फरक क्षमताका बालबालिकालाई फरक व्यवहार गर्नु न्यायोचित नहुने भएकाले सरकार एवं विभिन्न दाताहरूले उपलब्ध गराएको सहयोग लक्षित क्षेत्रमै खर्च गर्न ती विद्यालयहरूलाई सचेत गराएका छौं ।’

जिल्लाका सामुदायिक विद्यालयहरूमा सञ्चालित फरक क्षमताका विद्यार्थी अध्ययनरत यी स्रोत कक्षालाई दिगो रूपमा सञ्चालन गर्न म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङले छुट्टै ११–११ लाख अक्षयकोषको स्थापना गरिदिएको छ । ‘दृष्टिविहीन बालबालिकाले पढ्न ब्रेललिपिको पुस्तक सबैलाई पुर्‍याउन सकिएको छैन । लेखपढ गर्ने स्लेट स्टाइलस (कापीकलम) पनि थोरै छन् । मिलेर पढ्ने व्यवस्था मिलाएका छौं,’ प्रअ नीलकण्ठ सुवेदीले बताए । ekantipur.com