नवविवाहित जोडीलाई दाम्पत्य जीवनको शुभकामना कार्यक्रम

0
304

म्याग्दीको भकिम्ली गाविसमा मङ्गलबार नवविवाहित जोडीहरुका लागि सफल दाम्पत्य जीवनको शुभकामना कार्यक्रम सम्पन्न भएको छ । ‘परिवार नियोजन, स्मार्ट बन्छ जीवन’ भन्ने मूल नारासहित एचसी थ्री म्याग्दीको सहयोग र भकिम्ली स्वास्थ्यचौकीको आयोजनामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा भकिम्लीका दर्जन बढी नवविवाहित जोडीहरुलाई स्मार्ट जीवन जिउने तरिका र परिवार नियोजनसँग सम्बन्धित विभिन्न विषयहरुमा सहजीकरण गरिएको थियो । उनीहरुलाई परिवार नियोजनका अस्थायी साधन कण्डम, डिपो, पिल्स, ३ महिने सुई, कपर्टी, इमप्लान्ट, आईरन चक्की तथा स्थायी साधन भ्यासेक्टोमी, मिनिल्यापलगायतका सेवाको प्रयोग एवं फाइदाका बारेमा जानकारी गराइएको थियो ।

कार्यक्रममा भकिम्ली गाविसका सचिव शिव शर्माले युवा पुस्ताका लागि कार्यक्रम प्रभावकारी रहेको भन्दै नवविवाहित जोडीलाई ३५ दिनभित्र विवाह दर्ता गराउन आग्रह गरेका छन् । उनले विवाह दर्ता गरेमा धेरै अधिकार सुनिश्चित हुने भन्दै सानै उमेरमा विवाह गरेपनि २० वर्षपछि मात्रै बच्चा जन्माउनुपर्ने बताएका थिए ।
img_0099
उक्त कार्यक्रममा एचसी थ्रीका जिल्ला संयोजक सरस्वती पुरीले कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्दै विभिन्न सर्भेक्षणले १५ देखि २९ वर्ष उमेर समूहका युवा पुस्तामा परिवार नियोजनका साधनहरुको प्रयोगमा कमी देखिएको हुँदा त्यसमा पहुँच बढाउन कार्यक्रम सञ्चालन गरिएको बताएकी थिइन् । भकिम्ली स्वास्थ्यचौकी प्रमुख धिरज शाहले नवविवाहित जोडीलाई स्वास्थ्य संस्थामार्फत सेवा लिन तथा समस्याका बारेमा जानकारी गराउन आग्रह गरेका थिए ।
img_0101
कार्यक्रमको एचसी थ्री संयोजक पुरी, स्वास्थ्यचौकी प्रमुख शाह र सिनियर अनमी तारा बुढाथोकीले सहजीकरण गरेका थिए । कार्यक्रमको अवसरमा नवविवाहित जोडीलाई परिवार नियोजनसँग सम्बन्धित सन्देशमूलक पुस्तिका, बुलेटिन र फोटो फ्रेम वितरण तथा शुभकामना दिइएको थियो । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका सन्जोग तिमिल्सीना र भकिम्लीका गाउँ बाल संरक्षण तथा सम्वद्र्धन उपसमिति संयोजक रत्नबहादुर जिसीले मन्तव्य राखेका थिए ।
img_0103
स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन जसबहादुर पुनको अध्यक्षता र युवा सञ्जाल अध्यक्ष प्रकाश क्षेत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सिनियर अनमी बुढाथोकीले स्वागत गरेकी थिइन् । स्वास्थ्य, सञ्चार, सूचना तथा समन्वयको माध्यमबाट परिवार नियोजनका सेवाको प्रयोगमा पहुँच बढाउने कार्यक्रमको मुख्य उद्देश्यसहित नेपालमा रहेको अनिच्छित गर्भाधारणमा कमी ल्याउने लक्ष्य राखिएको छ ।

१५ वर्षदेखि २९ वर्षसम्मका लक्षित समूह रहेकोमा कार्यक्रमले युवा दम्पति, सिमान्तकृत समुदाय, वैदेशिक रोजगारमा गएका तथा ३ महिना भन्दाबढी घरबाहिर बसेकालाई लक्षित गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । म्याग्दीमा विगत दुई वर्षदेखि बेनी नगरपालिकासहित विभिन्न ९ ओटा गाविसमा एचसी थ्री कार्यक्रम लागू गरी सञ्चालन गरिएको छ ।