आगामी माघ १ र २ गते लोपउन्मुख नाचको संरक्षण गर्न म्याग्दीमा पुख्यौली नाचको प्रतियोगितामा सहभागिले दर्ता सुरु गरेका छन् । नेपाल मगर संघ म्याग्दीले माघी पर्वको अवसरमा म्याग्दीको सदरमुकाम बेनीमा खुल्ला पुख्यौली नाचको प्रतियोगितामा मंगलबारसम्म चिमखोला, दग्नाम, दरबाङ, देविस्थानको मगरदाङ र राजदाङले दर्ता गरेको मगर संघ म्याग्दीका सचिव लोकेश पुन मगरले बताए ।

‘१५ भन्दा धेरै समुह दर्ता हुने अनुमान गरिएको छ । आज प्रमुख अतिथिको टुंगो लाग्छ’ उनले भने । जिल्लाको पहिचानको रुपमा रहेको पुख्यौली नाचको प्रतियोगिता संगै लोपउन्मुख नाचहरूको विषेश प्रर्दशन गरिने मगर संघले जनाएको छ । प्रतियोगितमा प्रथमले २५ हजार, द्धितिय २० हजार, तृतियले १५ हजार र सान्त्वनालाई १० हजार रहेको छ ।

प्रतियोगितको अवसरमा जिल्लाभर रहेका लोपउन्मुख नृत्यहरूलाई पहिचानमा समेत सघाउने गरी अभियानमुखी कार्यक्रम सञ्चालन गरिरहेको संघले यस्ता प्रतियोगितालाई आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । म्याग्दीको चिमखोलामा २०२४–०२५ सालबाट सुरू भएको म्याग्दी जिल्लाकै पहिचानको रुपमा रहेको थालका साथै सोरथी, मारुनी लगाएतका जनजातीका पहिचान संग जोडिएका नाचमा यूवालाई तालिम तथा प्रशिक्षण समेत दिने गरेको छ ।