नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धौलागिरि अञ्चल सहित आसपासका क्षेत्रमा लोडसेडिङ नहुने घोषणा गरेपनि म्याग्दीमा दैनिकजसो अनियमित विद्युत कटौटी हुने गरेको छ ।विहान देखी बेलुकी सम्म पटकपटक विद्युत कटौटी हुदाँ उपभोक्ता हैरानीमा परेका छन् । गएको एकदुईमिनेटमै फेरी आउँछ ।यसबाट उपभोक्ता मात्रै होईन विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रले पनि हैरानी खेप्नुपरेको छ ।

प्राधिकरणले काठमाण्डौमा लोडसेडिङको अन्त्य गरेर देशभर लोडसेडिङ मुक्त बनाउने अभियान सञ्चालन गरिरहेको अवस्थामा म्याग्दी सहित बागलुङ र पर्वतमा आलोपालो अन्र्तरगत बेलुकी आधा घण्टा नियमित लोडसेडिङ भइरहेको विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सिताराम शाहले बेनीअनलाइनसंग बताए । ‘अनियमित कटौटीले हामीलाई पनि हैरानी पारेको छ । यो समस्या छिट्टै समाधान हुन्छ’ उनले भने ।

उनका अनुसार पर्वतको मिलनचोकमा रहेको ट्रान्सफर्मरको क्षमता ३ केविए भएको बताउँदै ५ केविएका लागि टेन्डर प्रक्रिया अगाडी बढेकाले ट्रान्सफर्मर फेरिएपछि अनियमित कटौटीमा कमी आउने प्राधिकरण म्याग्दी वितरण शाखाले जनाएको छ । विद्युत चुवावट रोक्ने अभियानलाई ग्रामिण क्षेत्रसम्म सञ्चालन गरिरहेको प्राधिकरणले अनावश्यक काममा विद्युतको दुरुपयोग नगर्न समेत अनुरोध गरेको छ । बेनीबजार भित्र रहेका ट्रान्सफर्मरको अवस्था समेत कमजोर छ । बजार क्षेत्रमा अत्याधिक प्रयोग हुने विद्युतका कारण समस्या झल्दै आइरहेको प्राधिकरणले नयाँ ट्रान्सफर्मर फेर्न अनुरोध समेत गरेको जनाएको छ ।

ओभर लोड भएकाले पनि पटकपटक विद्युत जाने गरेको छ । जिल्लाभित्र रहेका विभिन्न फिडरमा डिम बत्ती आउने समस्यामा केही कमी आएको कर्मचारीको भनाई छ । बेनीबजारलाई अस्पताल चोकमा ३ वटा, बेनी सामुदायिक विद्यालय नजिक २, मंगलाघाटमा २ र पर्वतबेनीमा २ वटा सानोठुलो क्षमताका ट्रान्सफर्मर रहेका छन् । यसैविच बेनी फिडरका साथै जिल्लाका विभिन्न गाविसमा पुगेको केन्द्रिय विद्युतको चोरी भइरहेका स्थानहरुमा निगरानी बढाउन थालिएकाले पनि नागरिकको सक्रियतामा विद्युत चुवावट रोक्दै अनियमित विद्युत कटौटीलाई समेत घट्ने म्याग्दी वितरण केन्द्रको भनाई छ ।

विज्ञापन