अस्पताल विकास समितिको अध्यक्षमा सिफारिस भएका माधव प्रसाद रेग्मीले उपसभापतिमा मेरो दावेदारी यथावत रहेको बताएका छन् । नेपाली काँग्रेस म्याग्दीले जिल्ला सदस्य रेग्मीलाई अध्यक्षमा सिफारिश गर्न स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएपछि उपसभापति दावीबाट पछाडी हटेको चर्चा हुन थालेपछि त्यसलाई प्रतिवाद गदैं उपसभापतिमा आफ्नो दावीबाट कुनैपनि हालतमापछाडी नहट्ने बताए । ‘पार्टीले जिम्मेबारी दिएको मात्रै हो । बैठकमा पनि मैले आफ्नो भनाई राखिसकेको छु’ रेग्मीले बेनीअनलाइनलाई भने ।
नेपाली काँग्रेसका पूर्व जिल्ला सचिब समेत रहेका रेग्मीले जिल्ला कार्य समितिको वैठकले सिफारिस गर्ने क्रममा समेत आफ्नो भनाई सभापति समक्ष राखेको बताउँदै आफुँलाई कमजोर बनाउने प्रयास भए अस्पताल विकास समितिको अध्यक्ष छोड्न तयार रहेको बताए ।‘पार्टीमा मेरो योगदान कार्यकताले देखेका छन् ।पार्टीलाई बलियो बनाउन खेलेको भूमिकालाई मुल्याङ्न हुनेमा आशावादी छु’ उनले भने ।
स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक जारी गरेको निर्देशिका बमोजिम यसअघि चर्चामा रहेका सबै नामहरुमा योग्यता नपुग्ने भएपछि रेग्मीलाई अगाडी सारिएको थियो । विपक्ष प्रति आक्रामक रुपमा प्रस्तुत हुने नेताका रुपमा समेत चिनिएका रेग्मीले पार्टीमा योगदान पु¥याएका नेताहरुलाई अवसर दिनुपर्ने बताए । निर्देशिकामा अस्पताल अध्यक्ष हुनलाई स्नातक तह उत्र्तिण गरेको र ३० बर्ष उमेर पुगेको हुनुपर्ने उल्लेख छ । कांग्रेसमा उपसभापति बन्ने लाइनमा रहेका क्याप्टेन मिन बहादुर कार्की र केवी भण्डारीले समेत आफ्नो दावी छोडेका छैनन् । नेपाली काँग्रेसका जिल्ला सभापति खमबीर गर्बुजालाई मनोनित गर्न पदाधिकारीमा हम्मेहम्मे परेको छ ।
उपसभापति, सचिब र सहसचिब लगायत पदाधिकारीको टुँगो लगाउने बसेको जिल्ला कार्य समितिको पूर्ण वैठकमा आकांक्षी धेरै भएपछि वैठक विनानिस्कर्ष टुगिएको थियो । सचिबमा ओम छन्त्याल, अमृतदेवी बानियाँ र सहसचिबमा भरत रकाल तथा कमल छन्त्यालको दावेदारी थियो । तीन पदमा उपसभापतिको टुँगो लगाउन काँग्रेसलाई सबैभन्दा बढी अप्ठ्यारो भईरहेको छ । उपसभापतिमा सभापति निकट मानिएका र विदेश भ्रमणको क्रममा कार्यवाहक सभापतिको जिम्मेबारी पाएका भण्डारीलाई रोक्न पुराना नेताहरुले सक्रियता देखाइरहेका छन् । पार्टीमा कार्यकारी पदमा नभएपनि केही नेताहरुले समेत बाहिरबाट आफ्ना निकटलाई उपसभापतिमा बनाउन केन्द्रिय तहसम्म लविङ गरिरहेको बुझिएको छ।