स्थानीय निकायको पुनःसंरचना गर्न गठित ‘गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोग’ले प्रस्ताव गरेको अस्थायी गाउँपालिकाको केन्द्रमा असन्तुष्ट जनाउँदै रघुगंगा गाउँपालिकाका पाँचवटा गाविसले कडा आन्दोलनको घोषणा गरेका छन् ।

प्रशासनिक सुगमता, भौगोलिक बनावट, प्राकृतिक सम्पदा, जनसंख्या लगायत मापदण्डका आधारमा गाउँपालिकाको केन्द्र तोक्नुपर्नेमा जनताको भावना विपरित गाउँपालिकाको केन्द्र तोकिएकोमा आपत्ती जनाउँदै बिहिबार जिविस म्याग्दीमा ज्ञापनपत्र बुझाएर आन्दोलनको घोषणा गरेका छन् ।

पिप्ले, भगवती र बेगखोला गाविसका प्रतिनिधिले दग्नाम, चिमखोलाका बासिन्दाहरुको समेत समर्थनमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगाएतका राजनीतिक दलका नेताहरूको नेतृत्वमा निमित्त स्थानीय विष्णु प्रसाद पौडेल र तीन राजनीतिक दलका प्रमुखलाई ज्ञापन पत्र दिदैं आन्दोलनको घोषणा गरेका थिए । ‘पाँचवटै गाविसबासीको सहभागितामा आन्दोलनको घोषणा भएको छ ।

गाउँदेखी केन्द्रसम्म दवावमुलक आन्दोलन सुरु गरिएको छ’ बालकृष्ण सुबेदीले बेनीअनलाइनलाई भने । उनका अनुसार पहिलो चरणमा ज्ञापनपत्र, दोस्रो चरणमा तीन राजनीतिक दलका प्रतिनिधिहरुको सहभागितामा स्थानीय विकास मन्त्रालय र आयोगमा ज्ञापनपत्र, तेस्रो चरणमा गाविसको काम ठप्प, जिविसको कार्यालयमा तालाबन्दी, चौठो चरणमा गाविस अन्र्तरगत बेनी–जोमसोम सडकखण्डमा आन्दोलन सहित यातायात ठप्प लगाएतका कार्यक्रमहरु सञ्चालन गरिने छ ।

चरणबद्ध आन्दोलनबाट समेत मागको सुनुवाई नभए निर्वाचन बहिस्कार सहितका अन्य दवावमुलक कार्यक्रमहरू सुरु गर्ने संघर्ष समितिको भनाई छ । गाउँपालिकाको केन्द्र नभए बेनी नगरपालिका भित्र समावेश हुन चाहेका पिप्ले र भगवतीलाई राजनीतिक दलले केन्द्रको आश्वासन दिएका थिए । गाउँपालिकाले सहज भन्दा सास्ती दिएको भन्दै आन्दोलनरत गाविसले कुनैपनि हालतमा अस्थायी गाउँपालिकालाई स्वीकार नगर्ने घोषणा गरेका छन् ।

स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिले गलेश्वरमा गरेको राजनीतिक दलको गोप्य बैठकमा धौलागिरि गाउँपालिकामा ताकम, मुना, मुदी, लुलाङ, गुर्जा, मराङ र मल्कवाङ गाविसलाई समावेश गदैं ताकम र मुनालाई केन्द्र र रघुगंगा गाउँपालिकामा पिप्ले, भगवती, दग्नाम, चिमखोला, कुईनेमंगले, पाखाापानी, झिँ र बेगखोला गाविसको केन्द्र पिप्ले गाविसको मौवाफाँट र पाखापानीलाई प्रस्ताव गरेको थियो । आयोगले धौलागिरि गाउँपालिकाको निर्वाचन गराउने गरी मुना र रघुगंगा गाउँपालिकाको केन्द्र मुनालाई तोकेपछि उत्सव र विरोध सुरु भएको छ ।