युवा रेडक्रस सर्कल माउण्ट एभरेष्ट आवासीय मावि बेनी म्याग्दीको आयोजनामा बुधबारदेखि शुरु भएको आठौं माउण्ट युरेस कप छात्रछात्रा भलिबल प्रतियोगिता जारीरहेको छ । प्रतियोगितामा छात्रतर्फ १४ र छात्रातर्फ ७ विद्यालयले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको बिहीबार सम्पन्न छात्रतर्फको खेलमा मुक्तिधाम मावि राखुभगवतीलाई पराजित गरी महेन्द्ररत्न मावि बराङ्जा तथा म्याग्दी बहुमुखी क्याम्पसलाई पराजित गर्दै सर्वोदय मावि भूरुङ–तातोपानी दोस्रो चरणमा प्रवेश गरेका थिए । यसैगरी सर्वोदय मावि भूरुङ–तातोपानीलाई हराउँदै गलेश्वर मावि तोरीपानी, माउण्ट बीलाई हराउँदै मङ्गला शिक्षा क्याम्पस बाबियाचौर र बेनी सामुदायिक माविलाई हराउँदै महेन्द्ररत्न मावि बराङ्जा सेमीफाइनलमा प्रवेश गरेका थिए ।

त्यस्तै पहिलो सेमीफाइनलमा मङ्गला शिक्षा क्याम्पस बाबियाचौरलाई पराजित गरी गलेश्वर मावि तोरीपानी र महेन्द्ररत्न मावि बराङ्जालाई पराजित गरी माउण्ट एभरेष्ट फाइनलमा प्रवेश गरेको विद्यालयका शिक्षक नायक कमल बानियाँले जानकारी दिनुभयो । त्यसैगरी छात्रातर्फको पहिलो सेमीफाइनलमा माउण्ट बिलाई हराउँदै सर्वोदय मावि भूरुङ–तातोपानी र न्यु वेष्ट प्वाईन्ट बेनीलाई हराउँदै माउण्ट एभरेष्ट ए फाइनलमा प्रवेश गरेको युरेसका अध्यक्ष सुदन कार्कीले जानकारी दिए ।
img_3055
आठौं माउण्ट युरेस कपको अन्तिम फाइनल खेल तथा समापन कार्यक्रम शुक्रबार खुलामञ्चमा हुने विद्यालयका प्रिन्सिपल राजु केसीले बताएका छन् । प्रतियोगिताको छात्रतर्फ विजेता हुनेले नगद ३५ हजार, उपविजेताले २० हजार र छात्रातर्फ विजेताले १८ हजार र उपविजेताले १२ हजार रुपैयाँसहित कप, शिल्ड र मेडल एवं प्रमाणपत्र प्राप्त गर्ने भएका छन् । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने छात्र÷छात्रालाई कपको समेत व्यवस्था गरिएको विद्यालयका खेल शिक्षक देव छन्त्यालले बताउनुभयो ।