म्याग्दीमा सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बिमा) सदस्यता दर्ता कार्यक्रम सुरु भएपछि बेनी नगरपालिका र ३५ गाविसमा घरदैलो अभियान मार्फत स्वास्थ्य विमा दर्ता अभियान सञ्चालन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय र सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति म्याग्दीको संयुक्त आयोजनामा सदस्यता दर्ता कार्यक्रममा सर्वसाधारणको आर्कषण देखिएको दर्ता सहयोगीले बताएका छन् ।

स्वास्थ्य बिमा दर्ताका लागि जिल्ला अस्पताल म्याग्दी र प्राथमिक स्वास्थ्य केन्द्र दरबाङमा कार्यक्रम लागू गरिएको छ । स्वास्थ्य बिमा दर्ता गर्न ४३ जना दर्ता सहयोगीहरु नियुक्त गरी उनीहरुलाई आवश्यक तालिम दिएको र अब घरघरमा दर्ता सहयोगी पठाइने सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति म्याग्दीले जनाएको छ ।

सरकारले उपलब्ध गराउँदै आएको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन नयाँ कार्यक्रम आएको भन्दै यसलाई विपन्न र दुर्गम क्षेत्रको पहुँचसम्म पु¥याउने गरी ग्रामिण क्षेत्रमा स्वास्थ्यकर्मीले समेत सहयोग गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर रोशन न्यौपानेले बताए । बेनीबजारमा समेत सहयोगीले घरदैलोमै पुगेर स्वास्थ्य विमाको महत्वका बारेमा बुझाइरहेका छन् भने दुर्गम क्षेत्रमा समेत सर्वसाधारणले विमा प्रति चासो देखाउन थालेपछि सहयोगीलाई सहज भएको छ ।

कार्यक्रममा सहभागी हुन ५ जनासम्मको परिवारले वार्षिक रुपमा प्रति परिवार २ हजार पाँचसय र ५ जनाभन्दा बढी भएमा प्रति सदस्य ४ सय २५ रुपैयाँका दरले थप रकम तिरेर सदस्य बनी स्वास्थ्य सेवा लिन पाइने व्यवस्था रहेको छ। सरकारले आर्थिक वर्ष २०७०÷७१ बाट पहिलो चरणमा नेपालका तीन जिल्ला कैलाली, बागलुङ र ईलाम तथा दोस्रो चरणमा म्याग्दीसहित थप २२ जिल्लामा कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

विज्ञापन