म्याग्दीको सदरमुकाम बेनीको विरेन्द्रचोकमा शुक्रबार देखी माघेसङ्क्रान्ति मेला सुरू भएको छ । म्याग्दी उद्योग वाणिज्य संघअन्तर्गत रहेको महिला उद्यम विकास समितिद्वारा आयोजित माघेसङ्क्रान्ति पर्वको पुर्व राज्यमन्त्री एवम् सांसद नरदेवी पुनले उद्घाटन गर्नुभएको थियो ।
पर्वको उद्घाटन गदै सांसद पुनले म्याग्दी जिल्ला पर्यटकीय र धार्मिक क्षेत्रमा नेपालमै प्रख्यात रहेकाले पर्यटनको क्षेत्रमा लगानीको आवश्यकता रहेको बताउनुभयो । उहाँले विश्वका प्रख्यात पर्यटकीयस्थलहरूसंगै कृषि र पशुपालनको क्षेत्रमा समेत उत्कृष्ट जिल्ला भएकाले ग्रामिण क्षेत्रका बासिन्दाले चासो देखाउनुपर्नेमा जोड दिनुभयो ।
मेलाको अवसरमा म्याग्दीका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य प्रमोद श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन कुमार विश्वकर्मा, पत्रकार महासंघका अध्यक्ष सु्रत केसी, जिल्लास्थित राजनीतिक दलका प्रमुख लगाएतले माघेसङ्क्रान्ति पर्वको महत्वका बारेमा बोलेका थिए । मेलाको अवसरमा खुल्ला एकल नृत्यु, लठो तान्ने, छेलो फ्याँक्ने, अन्धनिशानलगायतका कार्यक्रमहरु सञ्चालन गरिने छ ।
हरेक तीनबर्षमा म्याग्दी महोत्सव गदैं आइरहेको म्याग्दी उद्योग बाणिज्य संघले दुईबर्ष सडक खाना महोत्सवका साथै कला संस्कृतिको संरक्षणसहित उद्योग, व्यापार र उद्यमशिलताको विकास गर्न मेला सञ्चालन गर्ने गरेको छ । कार्यक्रम महिला उद्यम विकास समितिका सभापति भण्डारीको अध्यक्षता, महासचिव लक्ष्मी कार्कीको सञ्चालन र उपसभापति सुनिता केसीको समापनमा सम्पन्न भएको थियो ।