सृष्टिको प्रारम्भदेखि नै माघे सङ्क्रान्तिको महत्व

0

(धु्रबसागर शर्मा)
हरेक वर्षको माघ १ गतेका दिन पर्ने माघे सङ्क्रान्तिलाई नेपालका विभिन्न जातिहरूले ठूलो चाडका रुपमा मनाउने परम्परा चलिआएको छ ।सङ्क्रान्ति शब्दको सामान्य अर्थ एउटा ठाँउबाट अर्को ठाँउमा जानु अर्थात एउटा अर्कासँग मिल्नु हुन्छ । यसरी जुन दिन सूर्य एक राशीदेखि अर्को राशीमा प्रवेश गर्छ, त्यस दिन मकर सक्रान्ति अर्थात माघे सक्रान्ति मनाइने ज्योतिषीय मान्यता रहिआएको छ ।

ज्योतिष शास्त्रका ज्ञाता तथा पंण्डित रामचन्द्र रिजालले जव सूर्य छ महिना दक्षिण कर्कट राशीमा बसेर उत्तरतर्फ फर्की मकर राशीमा प्रवेश गर्दछ, त्यस दिन मकर सङ्क्रान्ति भनेर परापूर्वकालदेखि नै मनाइने गरेको बताउनुहुन्छ ।उहाँले मकर सङ्क्रमण अर्थात सूर्य जुन दिन मकर राशीमा प्रविष्ट हुन्छ त्यस दिनदेखि प्रकाशको अन्धकारमाथि र घामको शीतमाथि विजययात्रा आरम्भ हुने बताउँदै असार महिनादेखि अन्धकाररुपी रातको अवधि लामो र प्रकाशरुपी दिनको अवधि छोटो भई सूर्यको दक्षिणायनकाल हुने जनाउनुभयो ।

पं रिजालले माघ १ गतेदेखि नै सूर्यको उत्तरायणकाल प्रारम्भ भई दिनमान बढ्न गई रात्रिमान घट्न थाल्ने हुनाले यसैलाई माघे सङ्क्रान्ति भनिएको बताउँदै यसको सम्बन्ध महाभारतको युद्धमा शरशय्यामा सुतेका अवस्थामा सूर्य दक्षिणायन हँुदा भीष्मपितामहले समेत ५६ दिन प्रतिक्षा गरी सूर्य उत्तारायण भएपछिमात्र देह त्याग गरेबाट पनि यो पर्व अत्यधिक पूण्यदायक मानिने गरेको दृष्टान्त दिनुभयो ।

उहाँले अझ यसको प्राचीन सम्बन्ध देवकीले श्रीकृष्णजन्मका लागि यसै दिन व्रत्त लिएको पौराणिक कथामा उल्लेख भएकाले यस चाडको महत्व झन बढेकोमा विश्वास गर्दै दुर्बासा क्रृषिको आज्ञाअनुसार कृपाचार्यकी पत्नी कृपीले यसै दिन ब्रत्त गरी मनोवाञ्छित फल पाएको प्रसङ्ग शास्त्रमा पाइने उल्लेख गर्नुभयो ।

त्यसैगरी माघे सङ्क्रान्ति विशेष गरेर सूर्यको गतिसँग सम्बन्धित रहेको र यसै दिनबाट असार मसान्तसम्म सूर्य उत्तरायण हुने भएकाले देवकार्यलाई प्रधान मानिने, त्यसपछि छ महिनासम्म दक्षिणायण हुने समयमा पितृ कार्य प्रधान मानिने समय भएको पंण्डित धर्मप्रसाद गौतमले बताउनुभयो ।

माघे सङ्क्रान्तिका बारेमा ज्योतिष रिजालले नक्षत्रकाल गणना अनुसार सूर्य मकर राशीबाट कुम्भ राशीमा प्रवेश हुने भएकाले यसलाई मकर सङ्क्रान्ति भनिएको भन्दै वैदिक साहित्यभित्र ‘माघ माषे सङ्क्रान्ति स्नाने बहुपूण्य भवती’ भनिएको अर्थात यो समयमा स्नान गरेमा शरीरमा रोगब्याधी हट्ने महत्व रहेको बताउनुभयो ।

उहाँ यो दिन कन्दमूलको सेवन गरेर शरीरलाई तिलको तेल घस्ने र गुलियो रसजस्ता प्रोटीनयुक्त वस्तु खाएर शरीरलाई स्वस्थ बनाउन सकिने बताउनुहुन्छ । ज्योतिष रिजालले सृष्टिको आरम्भकालदेखि नै मकर सङ्क्रान्तिको प्रचलन रहेको भन्दै खगोलअनुसार यो सृष्टि एक अर्ब ९६ करोड ५८ लाख ८५ हजार १२२ वर्ष पुरानो रहेको जानकारी गराउनुभयो ।