म्याग्दीको सदरमुकाम बेनीमा आइतबार सम्पन्न जिल्लास्तरीय बृहद कृषि मेला प्रदर्शनी–२०७३ बाट जिल्लाका विभिन्न २८ जना कृषकहरु उत्कृष्ट घोषित भई सम्मानित भएका छन् । कृषकहरुलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आयोजित कृषि मेला प्रदर्शनीमा विभिन्न ७ विधामा राखिएको उत्पादित कृषि उपजको मूल्याङ्कन गरी उनीहरुलाई पुरस्कृत गरिएको हो ।

कृषि मेलामा खाद्यान्न बालीतर्फ पेरिसा घिमिरे, श्रीराम मल्ल, सिवानी घिमिरे र नारायण कार्की, दलहन तथा नगदेबालीमा तीर्थबहादुर शाही, सरस्वती सुवेदी, शान्ति सुवेदी र खबरा महिला कृषक समूह उत्कृष्ट भएका छन् । यसैगरी तरकारी बालीतर्फ शोभित शर्मा, राममायाँ घिमिरे, सुशिला थापा र चन्द्र अधिकारी, आलुखेतीतर्फ मुक्ति खड्का, लक्ष्मी घिमिरे, नन्दकली शर्मा र सन्ध्या अधिकारी उत्कृष्ट भएका थिए ।

त्यस्तै उन्नत जातको माछा–हाँस तथा मुलातर्फ प्रेम कुँवर, दलबहादुर श्रेष्ठ, चन्द्रबहादुर कार्की र धनकुमारी चोखाल, फलफुलतर्फ सान्ता बोहोरा, चन्द्र श्रीपाली, प्रेम गिरी र मदनप्रसाद शर्मा उत्कृष्ट घोषित भएको जिल्ला कृषि विकास कार्यालय म्याग्दीले जनाएको छ । त्यस्तैगरी विविधतर्फ युदेवी शाक्य, मैना खत्री, विष्णु जिसी र हरि शाक्य उत्कृष्ट भई पुरस्कार जितेको कृषि कार्यालयका वागवानी विकास अधिकृत भोजबहादुर थापाले बताए ।
IMG_7592
उनका अनुसार सहभागी अन्य ३० जना कृषकहरुलाई पनि सान्त्वना पुरस्कारले पुरस्कृत गरिएको छ । उक्त मेलामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने कृषकहरुलाई क्रमशः नगद १ हजार, ७ सय, ५ सय र ३ सय रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । कृषकहरुले धान, मकै, गहुँ, सिमी, भटमास, बदाम, अदुवा, गोलभेंडा, काउली, सुन्तला, केरा, च्याउ, तरुल, फर्सी, किबीलगायतका कृषि उपजहरु प्रदर्शनीमा ल्याएका थिए ।

माघेसङ्क्रान्ति पर्वको अवसर पारेर जिल्ला कृषि विकास कार्यालय म्याग्दीको आयोजना र मिलन म्याग्दी, सुआहारा कार्यक्रम र संगम म्याग्दीको सहआयोजनामा तीन दिनसम्म लगाइएको कृषि मेला प्रदर्शनी गरिएको थियो । स्थानीय कृषि उपजको बजारीकरण, प्रचारप्रसार, व्यावसायिकरण र प्रवद्र्धन गर्ने उद्देश्यले वार्षिक कार्यक्रमअनुसार कृषि मेला प्रदर्शनी आयोजना गरिएको वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले जानकारी दिए ।

कृषकहरुलाई पुरस्कृत गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले खाली जग्गा र पाखो बारीलाई प्रयोग गरी व्यावसायिक कृषि पेशा गर्नुपर्ने बताएका छन् । उनले अब कृषि पेशालाई आधुनिकीकरण गरेर कम लगानी र मेहनतमा धेरै उत्पादन गर्नुपर्ने बताए । स्थानीय विकास अधिकारी प्रेमराज गिरीले कृषि पेशालाई व्यावसायिकरण गरी अग्र्यानिक तरकारी उत्पादनमा जोड दिनुपर्ने बताएका थिए ।
IMG_7561
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष एकेन्द्रबहादुर रावल, नागरिक समाजका संयोजक सुदर्शनकुमार श्रेष्ठ, मिलन म्याग्दीका कार्यकारी निर्देशक दिवाकुमारी पुन, उत्कृष्ट कृषकद्वय मुक्तिबहादुर खड्का र नन्दकली शर्माले मन्तव्य राखेका थिए । कार्यक्रम जिल्ला कृषि विकास समितिका संयोजक एवं स्थानीय विकास अधिकारी गिरीको अध्यक्षता र वागवानी विकास अधिकृत थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।