माहुरी बाजाका हस्ती निस्कोटका समबहादुर घर्तीमगर

0

म्याग्दी निस्कोट–७ का समबहादुर घर्तीमगर गाउँका हरेक सार्वजनिक कार्यक्रममा माहुरी बाजा प्रस्तुत गर्छन् । दुईवटा मुरली जस्तै देखिने बाजा उनले तीनदशक अगाडी देखी बजाउँदै आएका छन् । गाउँमा उनको सक्रियताले बुढापाका देखी यूवाहरू समेत पुख्र्यौली नाचको संरक्षणमा अग्रसरता देखाउँछन् ।

पश्चिम म्याग्दीमा पुख्र्यौली नाचको संरक्षणमा जुटेका हस्तीमा रुपमा समेत आफ्नो पहिचान स्थापित गरेका घर्तीमगरले माघी पर्वको अवसरमा नेपाल मगर संघ म्याग्दीले दोस्रो जिल्लाव्यापी खुल्ला पुख्र्यौली नाच प्रतियोगितामा समेत माहुरी बाजा बजाएर संरक्षणमा जुट्न अनुरोध गरेका छन् ।‘अहिले गाउँघरमा माहुरी बाजा देखिदैन्,पु्र्खाले दिएको सम्पत्ती संरक्षणमा कसैको चासो छैन’ उनले भने ।
IMG_7657
यूवा उमेरमै पुख्र्यौली नाचको संरक्षणमा सक्रिय भएका समबहादुरले विदेशी गीतसंगितले सयौं बर्ष पुरानो पुख्यौली नाचलाई विस्थापित गर्न लागेको चिन्ता ब्यक्त गरे । उनले माहुरी बाजा मगर समुदायको सम्पत्ती भएको बताउँदै यसलाई नयाँ पुस्तालाई सिकाउने मगर समुदायका साथै अन्य क्षेत्रबाट समेत सहयोगको आवश्यकता रहेको बताए ।

पुख्र्यौली नाचमा मारुनी र बादलेको भूमिका निर्वाह गर्न सकिने भएपनि माहुरी बाजा बजाउन सजिलो नभएको बताउँदै गाउँदेखी सहरसम्म माहुरी बाजा बजाउनेलाई मगर समुदायले नै चिन्न छोडेको गुनासो गरे । पुख्र्यौली समुह निस्कोटका संयोजक समेत रहेका घर्तीमगर पहिलोपटक पुख्र्यौली नाच संरक्षणमा जिल्लास्तरीय प्रतियोगिता भएकोमा उत्साहित समेत छन् । नेपालको मौलिक र परम्परागत बाजा पछिल्लो समय लोपउन्मुख बाजाको सुचीमा रहेको छ ।
IMG_7661
यता पुरानो संस्कृतिको संरक्षण गर्दै युवा पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यसहित माघेसङ्क्रान्ति पर्वको अवसरमा पुख्र्यौली नाच प्रतियोगितामा माहुरी बाजा प्रस्तुत हुनुलाई ठुलो उपलब्धीका रुपमा लिएको मगर संघ म्याग्दीका सचिव लोकेश पुन मगरले बताए । ‘पुख्र्यौली नाच संरक्षणमा बुढापाकाको सक्रियातालाई यूवापुस्ताले पनि साथ दिनुपर्छ’ उनले भने । प्रतियोगिता लगत्तै जिल्लाभरका सामुदायिक विद्यालयमा मगर विद्यार्थी संघ विस्तारको अभियानलाई तिब्रता दिई पुराना कला र संस्कृतिको संरक्षणमा यूवालाई परिचालन गर्ने मगर संघले जनाएको छ ।

कुईनमङ्गले, मल्कबाङ र गूर्जा गाविसबाहेक बाँकी सबै गाविसमा मगर समुदायको बसोबास रहेको म्याग्दीमा झण्डै ४२ प्रतिशत जनसङ्ख्या रहेको छ । सदरमुकाम र मगर जातिको बाहुल्यता भएका ग्रामीण गाउँहरुमा बसोबास गर्ने मगर समुदायले पुख्र्यौली नृत्य, सालैजोलगायतका विभिन्न लोकगीत र नृत्यहरु विदेशी पर्यटकको समेत प्रमुख आर्कषणको केन्द्र मानिन्छ ।