म्याग्दीको बेनी नगरपालिका–१० तोरीपानीमा सञ्चालित गलेश्वर उच्च माध्यमिक विद्यालयमा आइतबार भूकम्प सुरक्षा दिवस मनाइएको छ । १९औं भूकम्प सुरक्षा दिवस–२०७३ को अवसर पारेर विद्यालयद्वारा बिद्यार्थीहरुबीच बक्तृत्वकला प्रतियोगिता आयोजना गरी दिवस मनाइएको हो ।

प्रतियोगितामा विद्यालयको प्राविधिक र साधारण धारतर्फ अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएका थिए । भूकम्प सुरक्षासम्बन्धी विषयमा भएको बक्तृत्वकला प्रतियोगिताबाट प्राविधिक धारतर्फको पहिलो व्याजका सन्ध्या रेग्मी प्रथम, तोयानाथ शर्मा द्वितीय र साधारणतर्फका अन्जना खत्री तृतीय भएको गलेश्वर उच्च माविका शिक्षक एवं प्रवक्ता चन्द्रबहादुर लामिछानेले जानकारी दिएका छन् । कार्यक्रमको अवसरमा प्राविधिक धारमा अध्यापनरत शिक्षकहरुले प्रोजेक्टरको सहायताबाट भूकम्प जाने सम्भावना र त्यसबाट बच्ने उपायका बारेमा

सहजीकरण गरेका थिए । कार्यक्रममा विद्यालयको दुवै धारतर्फका शिक्षक तथा विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको विद्यालयले जनाएको छ ।
कार्यक्रम गलेश्वर उमावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुमासिङ बानियाँको प्रमुख आतिथ्य, विद्यालयका प्रधानाध्यापक रामप्रसाद सुवेदीको अध्यक्षता, उमावि संयोजक हरिप्रसाद सुवेदीको विशिष्ट आतिथ्य, सहायक प्रअ गणेशबहादुर बानियाँको सञ्चालन र प्राविधिक विभाग प्रमुख उज्ज्वल रिजालको स्वागतमा सम्पन्न भएको थियो ।

‘भूकम्पीय सुरक्षाको बलियो आधार, भुइँचालो थेग्ने घर र भौतिक पूर्वाधार’ भन्ने नारासहित आइतबार देशैभर १९औं भूकम्प सुरक्षा दिवस मनाइएको छ । विसं १९९० माघ २ गते अर्थात् आजैको दिन भूकम्प गएको सम्झनामा सरकारले २०५६ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन शुरु गरेको हो । नेपालमा गतवर्ष वैशाख १२ र २९ गते विनाशकारी भूकम्प गएको थियो ।

विज्ञापन