माघी पर्वको अवसरमा शनिबार म्याग्दीको सदरमुकाम बेनीमा सम्भवत मगर समुदायको इतिहासमै पहिलोपटक ठु्लो सहभागिताका विच शानदार उद्घाटन भएको दोस्रो खुल्ला पुख्यौली नाचको आइतबार राती भब्य समापन भएको छ । मगर समुदायको सयौंबर्ष पुराना कला र संस्कृतिको संरक्षण गदैं नयाँ पुस्तालाई हस्तान्तरण गर्न खुल्लामञ्चमा आयोजित प्रतियोगितले सहभागिताका रुपमा मिनी म्याग्दी महोत्सवको झल्को दिइरहेको थियो ।
आफ्नो जातिय भेषभूषामा गाउँगाउँबाट सदरमु्काम बेनी झरेका बुढाबुढी, युवायुवती र केटाकेटीहरुले सोरठी, सालैजो, यानीमाया, मारुनी, सुनिमाया, ख्याली भाकालगायतका पुख्र्यौली गीत र नृत्यमा नाच्दै बेनीबजार परिक्रममा गरी खुल्लामञ्चमा पुगेका थिए । मगर संघको सभाहलमा प्रतियोगिताको आयोजना गर्ने तयारीमा रहेका आयोजकले अपेक्षा गरेभन्दा धेरै सहभागि तथा कार्यक्रममा ग्रामिण क्षेत्रबाट समेत उपस्थिति हुने जानकारी पाएपछि स्थान परिवर्तन गरेर खुल्लामञ्चमा पुगेका थिए ।
कलिला बालबालिका देखी ७० बर्ष पार गरेका बृद्धबृद्धा समेत छमछमी नाच्दै माघी पर्व मनाएका मगर समुदायले जिल्लामा मगर समुदायको उपस्थितीलाई ठुलो जनसंख्याको प्रतिनिधित्व गर्ने समुदायको उपस्थितिलाई समेत प्रमाणित गरेर देखाउन सफल भएका छन् । पुस्ताले जोगाएर राखेका पुख्र्यौली नाच सहित सोरठी, माहुरी, मारुनी लगाएतका नाचहरू विस्तारै नयाँ पुस्ताले चासो देखाउन छाडेपछि सीप हस्तान्तरण गर्ने मनप्रसाद थजालीको नेतृत्वमा संघले विभिन्न कार्यक्रम मार्फत कला र संस्कृतिको संरक्षणमा देखाएको सक्रियताका कारण दोस्रो पुख्र्यौली नाच प्रतियोगिताको आयोजना गरिएको थियो ।
प्रतियोगितामा रुम पुख्यौली समुहबाट सहभागि भएका ९ बर्षिय सरोज बुढाथोकी देखी विम पु्ख्यौलीबाट जसिकला जुग्जाली र झिँ पुख्र्यौली समाजका पतिराम थजालीको सहभागिताले समेत प्रतियोगितालाई अर्थपुर्ण बनाएको छ । विद्यालय उमेर समुहका बालबालिका समेत आफ्नो पुस्ताले छोडेका कला रसंस्कृतिको संरक्षणमा जुट्नुले पनि आयोजकको उदेश्य सफल भएको मान्न सकिन्छ ।
‘प्रतियोगिताले थप जिम्मेबारी थपेको छ । खुल्लामञ्च गरिएको प्रतियोगितामा सहभागि र दर्शकको कुनै कमी भएन’ मगर संघ म्याग्दीका सहसचिव पुर्ण बहादुर पुनले भने । उनले आगामी दिनमा समेत प्रतियोगितात्मक कार्यक्रमका साथै कला र संस्कृति जोगाउने अभियानलाई सहर देखी ग्रामिण क्षेत्रसम्म सञ्चालन गर्ने बताए । जिल्लाका विद्यालय देखी वडास्तरसम्म मगर संघको सञ्जाल विस्तार गरिरहेको अवस्थामा पुख्र्यौली सहित लोपउन्मुख संस्कृतिको जर्गेना गर्ने गरी थप योजना सहित अगाडी बढ्ने सन्देश समेत खुल्लामञ्चबाट प्रवाह भएको मगर संघका सल्लाहाकार राजकुमार थापाले बताए ।
उनले यूवापूस्तालाई समेत प्रतियोगिताले आफ्नो समुदायको सम्पत्तीका रुपमा रहेका पुराना नाचको संरक्षणमा दवाव पुगेको समेत बताए । जिल्लाको कुईनमङ्गले, मल्कबाङ र गूर्जा गाविसबाहेक बेनी नगरपालिका सहित सबै गाविसमा मगर समुदायको बसोबास रहेको म्याग्दीमा झण्डै ४२ प्रतिशत जनसङ्ख्या रहेको छ । यसैविच मगर संघले प्रतियोगितामा आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने स्वदेश तथा विदेशका सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।