यूवाको क्षेत्रमा काम गर्ने म्याग्दीमा जिल्ला युवा समिति स्थापना

0
252

म्याग्दीको सदरमुकाम बेनीमा सोमबार एक कार्यक्रमकाबीच जिल्ला युवा समितिको कार्यालयको उद्घाटन भएको छ । युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय युवा परिषद जिल्ला युवा समितिको कार्यालयको उद्घाटन गरिएको हो ।

कार्यालयको औपचारिक उद्घाटन गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले विदेशप्रतिको मोहलाई रोक्न युवालक्षित कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताए । उनले युवालाई आकर्षित गर्न रोजगारी सिर्जना, व्यक्तित्व तथा नेतृत्व विकासलगायतका कार्यक्रम गरेर युवा समितिमार्फत सकारात्मक परिवर्तन हुने कामहरु गर्नुपर्ने बताएका छन् ।

कार्यक्रममा स्थानीय विकास अधिकारी प्रेमराज गिरीले जिविस, नगरपालिका र गाविसमार्फत लक्षित वर्गको क्षेत्रमा ठूलो रकम विनियोजन भए पनि खर्च हुन नसकेको बताउँदै युवा समितिबाट आवश्यक समन्वय गरी त्यो बजेटलाई परिचालन गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य माधवप्रसाद रेग्मी, खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष सुरत केसी र अनेरास्ववियुका केन्द्रीय सदस्य प्रकाश पौडेलले युवा समितिमार्फत स्वरोजगारमूलक कार्यक्रम शुरु गरेर युवा पलायन रोक्नुपर्नेमा जोड दिएका थिए ।
IMG_0102
कार्यक्रमको समापन गर्दै जिल्ला युवा समितिका अध्यक्ष देवीप्रसाद शर्माले हरेक गाविसको १ वडामा १० जना युवालाई समावेश गरी उद्यमशिल कार्यक्रम सञ्चालन हुने जानकारी दिए । उनले सबै क्षेत्रका युवाहरुलाई समावेश गरेर उद्यमसँग सम्बन्धित कार्यक्रमहरु आयोजना गरी युवालाई स्वरोजगार बनाइने बताएका छन् ।

कार्यक्रममा कार्यालय प्रमुख घनश्याम पौडेलले जिल्ला युवा समितिमार्फत जिल्लामा सञ्चालन हुने कार्यक्रममाथी प्रकाश पारेका थिए । उनले यसवर्ष कार्यालयको बजेट १२ लाख १२ हजार रहेको जानकारी गराउँदै युवा महोत्सव, प्रतिभा पहिचानलगायतका कार्यक्रम रहेको बताए । कार्यक्रम जिल्ला युवा समितिका अध्यक्ष शर्माको अध्यक्षता, कार्यालय प्रमुख पौडेलको स्वागत र अमृत बास्कुनेको सञ्चालनमा सम्पन्न भएको थियो ।